बावियाचौर विजयी
सुर्खेत, २० फागुन । (साबिस)
जिल्लास्तरीय एन्फा लिग फुटबल प्रतियोगिता अन्तर्गत बिहीवार पनि दुई वटा खेल सम्पन्न भएका छन् । पहिलो खेलमा सिद्धपाइला युवा क्लबले जीवनज्योति युवा क्लबलाई १–० ले पराजित गर्दै तीन अङ्क बटुल्न सफल भयो । यसका लागि एक मात्र निर्णायक गोल रामदयाल चौधरीले २५ औं मिनेटमा गरेका थिए ।
त्यसैगरी बिहीवार नै भएको दोस्रो खेलमा बावियाचौर युवा क्लबले न्यू स्टार स्पोर्टस् क्लबलाई २–० ले पराजित गरेको छ । बावियाचौरका लागि खेलको ७ औं र २० औं मिनेटमा कृष्ण रावलले दुई गोल गरे । यो जीतसँगै बावियाचौरले ६ अङ्क जोड्न सफल भएको छ भने न्यू स्टार अङ्कविहीन छ । प्रतियोगिता अन्तर्गत आज (शुक्रवार) दिउँसो २ बजे हुने पहिलो खेलमा शिवविहार पुस्तकालय र आरसी–३२ बीच प्रतिस्पर्धा हुनेछ भने साढे ३ बजे हुने खेलमा वीरेन्द्रनगर स्पोर्टस् क्लब र कालिमाटी युवा क्लब भिड्ने सुर्खेत जिल्ला फुटबल संघका उपाध्यक्ष चन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
साझा बिसौनी संवाददाता ।