दैनिक २५ लाख लिटर पानी भित्रिँदै

साझा बिसौनी संवाददाता
सुर्खेत, २० फागुन ।
सुर्खेत उपत्यकाको खानेपानी समस्या समाधानका लागि दैनिक १५ लाख लिटर भन्दा बढी पानी भित्रिने भएको छ । दैनिक २५ लाख ९२ लिटर पानी ल्याउने गरी खरीखोला तथा बोरीखोला खानेपानी आयोजना निर्माणको प्रक्रिया अन्तिम चरणमा पुगेको छ । 
आयोजना निर्माणका लागि आज (शुक्रवार) देखि सर्भेको काम सुरु हुने र एक वर्षभित्र निर्माण सम्पन्न गरिसक्ने झुप्रा बृहत खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले जानकारी दिएको छ । १७ करोड १८ लाख ९७ हजार रूपैयाँको लागतमा निर्माण हुने यो आयोजनाले तत्कालका लागि उपत्यकाको खानेपानी समस्या समाधान हुने बताइएको छ । यो आयोजनाबाट प्रतिसेकेण्ड ३० लिटर पानी आपूर्ति हुनेछ । सुर्खेतकै स्थानीय निर्माण कम्पनी दिवाप्रेरा जेभी कन्स्ट्रक्सनसँग १५ करोड ६० लाख ५८ हजार रूपैयाँमा सम्झौता गरी निर्माण कार्य अघि बढाइएको झुप्रा बृहतका अध्यक्ष कुलमणि देवकोटाले जानकारी दिए ।
आयोजनाका बारेमा जानकारी दिँदै आयोजना उप–प्रमुख केशवराज विष्टले नेपाल सरकारको ७० प्रतिशत अनुदानमा आयोजना निर्माण हुन लागेको बताए । बाँकी ५ प्रतिशत उपभोक्ता समितिले लगानी गर्नेछ भने २५ प्रतिशत रकम नगर विकास कोषबाट ऋण लिएर लगानी गरिने जनाइएको छ । ऋणका लागि नगर विकास कोषसँग सम्झौता भइसकेको छ । जेठको मसान्तसम्म प्रशोधन ट्याङ्की निर्माण गरी करैखोलासम्म पानीलाई पाइपमार्फत् ल्याउने लक्ष्य रहेको उनले जनाए । आयोजना सम्पन्न भएपछि प्रतिघण्टा ३० लिटरका दरले वीरेन्द्रनगरमा खानेपानीको आपूर्ति हुने प्राविधिक परामर्शदाता प्रमुख हरिप्रसाद ढकालले बताए । उनका अनुसार उक्त पानीलाई वीरेन्द्रनगरसम्म ल्याउनको लागि विभिन्न स्थानमा चारवटा नयाँ ट्याङ्कीहरूको निर्माण गरिनेछ । 
यसैगरी आयोजना अन्तर्गत जीर्ण भएका वीरेन्द्रनगर उपत्यका भित्रका पाइपलाइन समेत व्यवस्थित गरिने भएको छ । निर्माण कम्पनीका प्रमुख व्यवसायी पदमबहादुर खड्काले आफ्नो जिल्लाको महŒवपूर्ण योजनालाई महŒवका साथ कामलाई प्रभावकारी रूपमा तीव्र सञ्चालन गरिने बताए ।
प्रकाशित मितिः   २१ फाल्गुन २०७२, शुक्रबार १०:३३