कर्मचारी फेरबदलको असर

स्थानीय सरकारको पहिलो पाँच वर्षे कार्यकाल पूरा हुँदैछ । आगामी वैशाख ३० गते हुने निर्वाचनबाट नयाँ जनप्रतिनिधि चयन हुनेछन् । सरकारको नेतृत्व फेरिने छ । संवैधानिक व्यवस्था बमोजिम पाँच वर्षपछि स्थानीय सरकारको नेतृत्व फेरिदैछ, तर यो पाँच वर्षमा प्रमुख प्रशासकीय अधिकृतको फेरबदलको मारमा परे पालिका । प्रमुख प्रशासकीय अधिकृत आउन बित्तिकै अर्को ठाउँमा सरुवा भइहाल्ने प्रवृत्ति रहेकाले स्थानीय तहका दैनिक प्रशासनिक कामहरू चौपट हुने गरेका छन् । योजना र कार्यक्रम कार्यान्वयनमा समस्या हुने गरेको छ ।

पालिका प्रशासनको नेतृत्व गर्ने कर्मचारीको फेरबदलको प्रत्यक्ष असर कार्यसम्पादनमा प¥यो । कैयन् पालिकामा अस्वभाविक संख्यामा कर्मचारी फेरिएका छन् । उदाहरणका लागि सुर्खेतको चौकुने गाउँपालिकालाई लिन सकिन्छ । पाँच वर्ष पूरा नहुँदै उक्त पालिकामा १२ जना प्रमुख प्रशासकीय अधिकृत फेरिए । तीमध्ये पाँच जना प्रमुख प्रशासकीय अधिकृत नै थिए, पाँच जनाले निमित्त प्रमुख चलाए भने दुई जनाले हाजिर नै नभएर बाटोबाटै अन्यत्र सरुवा मिलाए । कतिजना त दुई साता नहुँदै सरुवा भए । दैलेखको गुराँस गाउँपालिकाले पनि करिब यस्तै समस्या झेलेको छ । हालसम्म १० जना प्रमुख प्रशासकीय अधिकृत फेरबदल भइसकेका छन् । हाजिर भएको एक महिना नबित्दै अधिकृत फेरिने गरेको देखिन्छ । बारम्बार प्रशासकीय अधिकृत बदलिँदा काममा ठूलो असर पर्ने गरेको छ । प्रदेश राजधानीको नगरपालिका वीरेन्द्रनगरमा झन्डै पाँच वर्षमा पाँच जना प्रमुख प्रशासकीय अधिकृत परिवर्तन भए । यहाँ पनि एक जना एक वर्षभन्दा बढी समय बसेका छैनन् । यी त उदाहरण मात्रै हुन्, कर्णाली प्रदेशका अधिकांश पालिकाले अधिकृत फेरबदलको समस्या झेलेका छन् ।

कानुनतः एकपटक सरुवा भएपछि दुई वर्ष उक्त कार्यालयमा कार्यसम्पादन गर्नुपर्ने हुन्छ । तर दुई वर्ष बस्नै पर्ने प्रावधान विपरीत सरुवा भइरहेका छन् । सरुवा सरकारको नियमित प्रक्रिया हो, तर यसरी हुने सरुवाले स्थानीय सरकारको कार्यसम्पादन पूर्ण रूपमा प्रभावित भएको छ । यसमा ध्यान दिन जरुरी छ । स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत संघीय सरकार अन्तर्गतका कर्मचारी हुने भएकाले उनीहरूको मनोमानी बढेको कतिपय जनप्रतिनिधिहरूले बताउने गरेका छन् । सरुवा हुनका लागि स्थानीय तहको सिफारिस नचाहिने भएकाले आफू अनुकूलको ठाउँ रोजेर कर्मचारीहरू जाने गरेका छन् । यसले गर्दा पनि पालिकाको कार्यसम्पादन अपेक्षाकृत हुन सकेको छैन ।

प्रकाशित मितिः   २४ चैत्र २०७८, बिहीबार ०५:०३