कांग्रेस–एमाले प्रतिस्पर्धा
नेपालको सबैभन्दा ठूलो रारा ताल भएको जिल्ला हो, मुगु । यहाँ चार वटा स्थानीय तह छन् । २०७४ मा निर्वाचन हुँदा जिल्लाभर २७ हजार चार सय ४७ मतदाता थिए । तर २१ हजार चार सय एक जना मात्रै मतदानमा सहभागि भए ।
मुगुमा नेपाली कांग्रेस र नेकपा (एमाले) बीच प्रतिस्पर्धा छ । मतपरिणाम मिश्रित देखिन्छ । कांग्रेसले तीन वटा पालिका प्रमुखसहित १६ वडाअध्यक्ष जितेको छ । एउटा मात्रै पालिका प्रमुख जितेको एमालेले भने चारै पालिकाको उपप्रमुख र २१ वडाअध्यक्ष जितेको छ । माओवादी केन्द्र पालिका प्रमुख र उपप्रमुखमा नतिजाविहीन छ भने सात वटा वडाको अध्यक्ष जितेको छ ।
खत्याड गाउँपालिकाको अध्यक्षमा एमालेका उब्जनबहादुर शाही विजयी भएका छन् । उनले दुई हजार तीन सय सात मत प्राप्त गर्दा दोस्रो स्थानमा रहेका माओवादी केन्द्रका बिर्खबहादुर थापाले दुई हजार २८ मत पाएका छन् । कांग्रेसका लोकेन्द्रबहादुर थापाले भने एक हजार नौ सय ९९ मत पाएका थिए ।
उपाध्यक्षमा पनि एमालेकै जयनन्दा कार्की निर्वाचित भएकी हुन् । उनले दुई हजार तीन सय २२ मत पाएकी छिन् ।
खत्याडमा ११ वडा छन् । त्यसमध्ये चार वटामा एमाले विजयी हुँदा माओवादी र कांग्रेसले समान ३/३ वडा जितेका छन् एउटामा भने स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् ।
जिल्लाको एक मात्र नगरपालिका छायाँनाथ राराको प्रमुखमा कांग्रेसका हरिजंग शाही निर्वाचित भएका छन् । शाहीले तीन हजार पाँच सय ६० मत ल्याउँदा उनका निकटम प्रतिद्वन्द्वी एमालेका जितबहादुर मल्लले तीन हजार चार सय ४१ पाएका छन् ।
उपप्रमुखमा भने एमाले उम्मेदवार सुन्तला रोकायले बाजी मारेकी छिन् । उनले तीन हजार दुई सय ३० मत पाएकी थिइन् । १४ वडामध्ये सात वडाअध्यक्ष कांग्रेस, पाँच एमाले र दुईमा माओवादी केन्द्र विजयी भएका छन् ।
मुगुम कार्मारोंग गाउँपालिकामा पनि कांग्रेस र एमालबीच प्रतिस्पर्धा छ । अध्यक्षमा कांग्रेसका छिरिङक्याप्ने लामाले एमालेका सोनाम छिरिङलाई एक सय ४४ मतअन्तरले पराजित गरेका छन् । लामाले एक हजार एक सय ७० मत पाउँदा छिरिङले एक हजार २६ मत पाएका हुन् ।
उपाध्यक्षमा भने एमालेका छिरिङ तामाङ एक हजार ६० मतसहित निर्वाचित भएकी छिन् । वडामा पनि कांग्रेसले र एमालेले बाजी मार्दा माओवादी शून्य भएका छन् । पाँच वटामा एमाले र चार वटामा कांग्रेस विजयी भएका हुन् ।
कांग्रेसले जितेको सोरु गाउँपालिकामा पनि एमालेसँग निकै कम मतान्तर रहेको छ । अध्यक्षमा एक हजार आठ सय ५४ मतसहित कांग्रेसका लोकबहादुर शाही निर्वाचित भएका छन् । एमालेका धर्मबहादुर शाहीले ३३ मत कम अर्थात् एक हजार आठ सय २१ मत पाएका छन् । माओवादीका पुरन शाहीले पाएको मत एक हजार तीन सय ५४ छ ।
उपाध्यक्षमा एमालेकी राज्यलक्ष्मी मल्ल निर्वाचित भएकी छिन् । ६ वडाअध्यक्ष एमाले, तीन कांग्रेस र दुई माओवादी केन्द्रले जितेका छन् ।
प्रमुख दुई दल एमाले र कांग्रेसबीच प्रतिस्पर्धा रहेको मुगुमा माओवादी तेस्रो शक्ति हो । यसपटकको निर्वाचनमा कांग्रेस र माओवादीसहित सत्तारुढ गठबन्धनका दलहरूबीच चुनावी तालमेल हुँदैछ । आगामी निर्वाचन परिणाममा भने उक्त तालमेलले फरक पार्न सक्ने देखिन्छ ।
प्रकाशित मितिः २४ चैत्र २०७८, बिहीबार ०५:०४
साझा बिसौनी ।