सुर्खेत कांग्रेसमा किचलो: पार्टीभित्र भाग खोज्दै थानी समूह

सुर्खेत: सुर्खेतमा नेपाली कांग्रेसभित्रको अन्तरद्वन्द्व चर्किंदै गएको छ । स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा आन्तरिक भागबन्डाको विषय थप पेचिलो बनेको हो ।

स्थानीय निर्वाचनका लागि पाँच दलीय गठबन्धन गर्न नहुने पक्षमा रहेको संस्थापन इतर (शेखर कोइराला) समूहले पार्टीभित्र समूहगत प्रतिनिधित्व खोज्न थालेको छ । जिल्लाका नौ वटा पालिका र वडाको उम्मेदवार छनोट गर्दा ४० प्रतिशत उम्मेदवार आफ्नो समूहलाई दिनुपर्ने लविङमा नेताहरू लागेका छन् । शुक्रवार वीरेन्द्रनगरमा भएको इतरसमूहको भेलाले ४० प्रतिशत हिस्सा खोज्ने निश्कर्ष निकालेको हो ।

कांग्रेस सुर्खेतका निवर्तमान सभापति कमलराज रेग्मीको नेतृत्वमा भेला सम्पन्न भएको थियो । पार्टीभित्र भागबन्डाको राजनीति नगर्ने भनिएपनि जिल्ला नेतृत्वले इतर पक्षलाई पेलेर जान जान खोजेपछि पार्टीभित्र ६०–४० को भागबन्डा हुनुपर्नेमा उक्त समूहले जोड दिएको हो ।

संस्थापन पक्षले निर्णय प्रक्रियामा एकलौटी गरेको भन्दै इतर समूह आक्रोशित बनेको छ । पूर्व सभापति रेग्मीले पार्टीमा मनोनित गर्ने सवालमा होस् वा भूमिका दिने सवालमा संस्थापन इतर समूहलाई भूमिकाविहीन बनाइएको बताए । आफ्नै नेता–कार्यकर्तालाई उपेक्षा गरेर अन्यसँग गठबन्धन गर्न लागिएको भन्दै उनले स्थानीय तहको निर्वाचनमा पनि आफ्नो समूहलाई बेवास्ता गरे सैह्य नहुने बताए । उनले स्थानीय तहको निर्वाचनमा पनि बाइपास गर्न सक्ने जोखिम भएकोले त्यसो नगर्न नेतृत्वलाई चेतावानी दिए । ‘पार्टीभित्र फरक मत भएपनि सहअस्तित्व र सम्मानको वातावरण बनाउनुपर्ने हुन्छ’ रेग्मीले भने ।

कांग्रेस सुर्खेतका अर्का नेता नारायण कोइरालाले निर्वाचनमा ४० प्रतिशत सहभागिता सुनिश्चित हुनुपर्नेमा जोड दिए । आजसम्म आफूहरूले पर्खेर बसेको भन्दै उनले संस्थापन पक्षको गतिविधिले इतर पक्षलाई बेवास्ता गरेको जनाए । पार्टी एक्लै चुनावमा जान सक्षम भएपनि केन्द्रीय नेतृत्वले गठवन्धन गर्ने निर्णय गर्नुले कार्यकर्तामा निराशा छाएको कोइरालाको भनाई छ ।

कांग्रेसका निवर्तमान जिल्ला सचिव भूपेन्द्र खत्रीले केन्द्रीय नेताकै कारण पार्टी कमजोर बन्न लागेको बताए । पार्टीभित्र इतर पक्षलाई मिलाउनुको सट्टा सिद्धान्त नमिल्नेलाई साथमा लिन खोज्ने प्रवृत्तिले कांग्रेस कमजोर बनेको खत्रीको टिप्पणी थियो ।

भेलमा सहभागी कांग्रेस प्रदेश कार्यसमिति सदस्य शम्भू पन्त, पूर्व जिल्ला उपसभापति टेकबहादुर सिंह, पूर्व कोषाध्यक्ष अनन्त पौडेल, सुर्खेत उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष टेकबहादुर भण्डारीलगायतले पार्टीको वर्तमान नेतृत्वले इतर पक्षलाई बेवास्ता गर्ने र भूमिका नदिए सशक्त भएर नेतृत्वका विरुद्ध लाग्ने चेतावनी समेत दिएका छन् ।

प्रकाशित मितिः   १९ चैत्र २०७८, शनिबार ०५:०४