संघको चुनावी प्रक्रिया रोक्न अदालतको आदेश

सुर्खेत: सुर्खेत उद्योग वाणिज्य संघको निर्वाचन प्रक्रिया तत्काललाई स्थगित गर्न उच्च अदालत सुर्खेतले अन्तरिम आदेश दिएको छ । व्यवसायीहरूको विवादका बीच चैत २६ गतेका लागि तय गरिएको निर्वाचन प्रक्रिया तत्काल रोक्न शुक्रवार अदालतले अल्पकालीन आदेश दिएको हो । अदालतका कायममुकाय मुख्यन्यायाधीश शेषराज सिवाकोटीको एकल इजलासले तत्काल निर्वाचन प्रक्रिया अघि नबढाउन आदेश गरेको छ । दुवै पक्षको कुरा सुनेर निष्कर्षमा पुग्ने अदालतको ठहर छ । उच्च अदालतले यही चैत २४ गते दुवै पक्षलाई बहसका लागि बोलाएको छ । व्यवसायी सुरेन्द्रकुमार मल्लले बिहीवार सुर्खेत उद्योग वाणिज्य संघका बहुमत कार्यसमितिले चैत २६ गते घोषणा गरेको निर्वाचन रोक्न आदेश माग गर्दै उच्च अदालतमा रिट दर्ता गराएका थिए । अदालतले निवेदकलाई पनि आदेश निर्वाचन रोक्न आदेश जारी गर्नुपर्ने भए १५ दिनभित्र कारणसहित प्रमाण पेस गर्न भनेको छ ।

संघमा सदस्यता नवीकरण लगायतका व्यवसायीहरूका मागका विषयलाई लिएर पछिल्लो समय विवाद चुलिएको छ । विधानअनुसार खारेज भएका व्यवसायीहरूले कोरोना महामारीका कारण सदस्यता नवीकरण गर्न नपाएको भन्दै विशेष व्यवस्थामार्फत आफ्नो सदस्यतालाई निरन्तरता दिनुपर्ने माग गरेका छन् । संघको विधानमा दुई आर्थिक वर्षसम्म लगातार नवीकरण गर्न छुटेका सदस्यता स्वतः खारेज हुने व्यवस्था छ । संघका वरिष्ठ उपाध्यक्षसहितका केही पदाधिकारी तथा सदस्यहरू असन्तुष्ट व्यवसायीको माग सम्बोधन गर्नुपर्ने पक्षमा देखिएका छन् भने अध्यक्षलगायतका पदाधिकारी विधानअनुसार त्यस्ता माग पूरा गर्न नसकिने अडानमा छन् । सोही विवादका कारण गएको माघ २८ गतेदेखि संघमा विवाद सुरू भएको हो । संघको कार्यालयमा अहिले पनि असन्तुष्ट पक्षले तालाबन्दी गरेका छन् ।

प्रकाशित मितिः   १९ चैत्र २०७८, शनिबार ०५:०३