लोकतन्त्रको विकल्प लोकतन्त्र

 

कुनै पनि विषयमा अल्पज्ञान भएर विचार निर्माण गर्नु, अभिव्यक्ति दिनु लज्जित हुने सजिला तरिका हुन् । ‘राजा आऊ देश बचाउ’ यो कोटेशन प्रयोग नभएको ठाउँ नै छैन जस्तो लाग्छ । नेपालका अधिकांश सहर, गल्लि, घरका भित्ताहरूमा यो कोटेशन पढ्न पाइन्छ । यसको कुनै गिरोह छ या पैसा दिएर कसैले काम गर्न लगाईरहेको छ वा कसैले पैसा लिएर काम गरिरहेको छ । यस विषयमा लेखक जानकार छैन । लेखकसँग कुनै त्यस्तो प्रमाण छैन । जसले तपाईलाई आश्वस्त पार्न सक्छ । अहँ, छदैछैन ।
यो कोटेशन कतै लेखेको तपाईको दिमागले पनि सायद सम्झ्यो होला । सायद है ! राजा फर्काउने अभियानमा लागेको एउटा पार्टी भने छ । जुन लामो समयदेखि राजा फर्काउन न्वारनदेखिको बल लगाएर लागिपरेको छ । देशमा जनताले लोकतन्त्र पाएपछि राजतन्त्रलाई टेरेनन्, टेर्नुहुन्न । त्यो किन एकैपछि भन्छु । टेरेनन् भनेपछि एक्लै छ क्या सोच्नुहोला । त्यहाँ पनि हजारौंको झुण्ड भने छ । जुन अल्पज्ञानले भरिपूर्ण छन् । उसो त लेखक पनि जान्ने मान्छे भने होइन । उसमा अल्पज्ञान अलि बढी छ । त्यसैले यो गल्ति गर्न ऊ हौसिएको हो ।

अँध्यारोदेखि उज्यालो तर्फको यात्रा

पृथ्वीनारायण शाहको जन्म सन् १७२३ मा भएको थियो । जर्ज वासिङ्टनको जन्म सन् १७३२ मा भएको थियो । अर्थात् वासिङ्टन भन्दा पृथ्वीनारायण शाह नौ वर्ष मात्र जेठा थिए । दुवै लडाकु हुन् । शाह गोर्खाली सैन्य टुकडीसँग जोडिएका लडाकू । वासिङ्टन भर्जिनिया रेजिमेन्टका लडाकू । सन् १७६८ मा शाहले काठमाडौं जितेर हनुमानढोका दरबारमा राज्याभिषेक गरे । सन् १७७६ मा अमेरिकी स्वतन्त्रताको घोषणा भएको थियो । समयका हिसाबले यो धेरै ठूलो भिन्नता होइन । नेपालको ‘गोर्खा अभियान’ र ‘अमेरिकी स्वतन्त्रता अभियान’ लगभग एउटै समय र युगका घटना थिए ।

तर, राज्य निर्माणको सोच, चेतना र मोडालिटीमा भने आकाश जमीनको भिन्नता छ । शाहले युद्धको बाटो अपनाए भने अमेरिकीले सम्मेलनको बाटो । १३ राज्यहरूको फिलाडेल्फिया सम्मेलन अमेरिकी राज्य र राष्ट्र निर्माणको आधारशिला थियो ।

एउटा काल्पनिक प्रश्न गरौं । मानौं, हामी पनि त्यतिबेलाका ५४ (बाइसे, चौबिसे) राज्यहरूको सम्मेलन गथ्र्याैं र संयुक्त राज्य नेपाल निर्माण गथ्र्यौं भने हाम्रो राज्य निर्माणको जग कस्तो बस्थ्यो होला ? अहिलेसम्म नेपाल कस्तो हुन्थ्यो होला ? जतिबेला अमेरिका निर्माणको जग बस्दै थियो, बन्दै थियो त्यतिबेला उनीहरूको दिमागमा प्रत्यक्ष निर्वाचित लोकतन्त्र, संघवाद, राज्यहरूको पहिचान र मान्यता स्वीकार गरे । हामी भने ठीक उल्टो अनिर्वाचित सत्ता, वंशवाद, युद्धद्वारा वर्चश्व र एकात्मकतातिर गयौं ।

यो भिन्नता मुख्य त सोचको भिन्नता हो । विचारको भिन्नता हो । अमेरिकामा त्यतिखेर बेलायतको साम्राज्य थियो । बेलायतमा संवैधानिक राजतन्त्र र संसदीय लोकतन्त्र थियो । जर्ज वासिङ्टनले चाहन्थे त उनी अमेरिकाको संवैधानिक राजा हुन र वासिङ्टन राजवंशको स्थापना गर्न सक्थे । स्वतन्त्रतापछि बेलायती मोडल अपनाउन उनीमाथि दबाब पनि थियो । तर, उनले मानेनन् । न राजा हुन चाहे, न संसदीय प्रणाली अपनाउन चाहे ।

आज अमेरिका त्यसै अमेरिका भएको होइन । यसका संस्थापकहरूको सोच नै दूरदृष्टियुक्त थियो । आज पनि धेरै नेपालीलाई प्रत्यक्ष लोकतन्त्र, संघवाद र स्थानिय स्वायत्तता स्वीकार गर्न गाह्रो परिरहेको छ । आज पनि नेपालमा राजा चाहियो भन्ने मानसिकताका मानिस छँदैछन् । मानिसको अझै समानता र स्वतन्त्रतामा विश्वास छैन । आफ्नै सार्वभौमसत्तामाथि आफैलाई विश्वास छैन । हाम्रो राष्ट्रनिर्माणको जगमै हीनता र असमानताको भाव हालिएको छ ।

लोकतन्त्र भित्र के छ ?

संवैधानिक र कानुनी रूपमा नेपालमा लोकतान्त्रिक शासन पद्धति अवलम्वन गरिएको छ । तीन तहको संघीय शासन प्रणाली छ । शासनको मुलभूत आधारका रूपमा राष्ट्र र जनताको हित, कानुनको शासन, मानव अधिकार, सुशासन, आवधिक निर्वाचन, वालिग मताधिकार, समावेशीकरण, समतामुलक न्याय, विकेन्द्रिकृत शासन प्रणाली, स्थानीय स्रोत साधनको सबलीकरण, सिमान्तकृत वर्ग समुदायलाई मुल प्रवाहीकरणको व्यवस्था छ ।

लोकतान्त्रिक मुल्यहरू अवलम्वन गरिएको छ । सिद्धान्ततः संविधानवाद, सहभागितामुलक शासन पद्धति छ । दिगो सोचमा आधारित शासन, विकास र सेवा प्रवाह पद्धति छ । लोकतन्त्रका लागि राज्य प्रणाली र शासकीय स्वरूपमा रूपान्तरण गरिएको छ ।

नीतिगत रूपमा राज्य प्रणालीमा सबै नागरिकको समान पहुँच र सम्मानको सुनिश्चतता गरिएको छ । कानुनी रूपमा असमानता, विकृति, विसंगति, विभेदहरूको अन्त्य तथा न्यूनिकरणको व्यवस्था छ । गरिबी निवारण गर्दै समृद्धि हासिलको लक्ष्य लिइएको छ । नेपाल विश्वव्यापीकरणमा आवद्ध छ । सुमधुर सार्वभौम, पारस्पारिक हितका आधारमा अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गर्ने राष्ट्रिय सोच, संवैधानिक र कानुनी प्रावधान तथा राजनीतिक संकल्प छ ।

कानुन निर्माण प्रक्रियालाई पारदर्शी बनाउनु पर्ने व्यवस्था छ । दण्डहीनताको प्रावधान छ । मानव संसाधनको विकासमा योगदान, मानव विकास सुचाङ्कमा सुधार, अधिकारको विकेन्द्रिकरण, उत्तरदायीपूर्ण शासन प्रणाली, योजनाबद्ध विकास प्रयास, सांगठानिक विकास तथा विस्तार र तिनको संरचनागत लोकतान्त्रिकरणको व्यवस्था छ । यसका अलावा निर्वाचन प्रणालीमा सुधार, भौगोलिक तथा प्रादेशिक सन्तुलन, लैङ्गिक, भाषिक, क्षेत्रिय लगायतका आयामिक सन्तुलन गर्ने व्यवस्था रहेको छ ।

अन्त्यमा,

लोकतन्त्रको विकल्प सुदृढ लोकतन्त्र नै हो । लोकतन्त्रको विकल्प अझ उन्नत लोकतन्त्र हो । अन्य कुरामा पछाडी फर्कन सम्भव होला तर लोकतन्त्रबाट पछाडी फर्कन सम्भव छैन । मानवीय चेतनास्तर घट्ने होइन बढ्ने नै हो । जतिसुकै संकट, चुनौती, समस्या, संशय, भ्रम र दुविधा भएता पनि लोकतन्त्रपछि फर्कने विषय नै होइन । लोकतन्त्र निरन्तर अघि बढ्ने विषय हो । तर लोकतन्त्रलाई सफल बनाउन तथा सुदृढ गर्नको लागि लोकतन्त्रका साध्यहरू परीपूर्ति हुनुपर्छ ।

अब भ्रमको खेती गर्न बन्द गर्नुपर्छ । यदि हामीले कुनै राम्रो चिज पायौं भने पहिला खुशी लाग्छ । केही समयपछि त्यहीँ चिज देख्यो भने वाक्क लाग्छ । यहाँ गलत बुझाई यहीँनेर भयो । हामीले नेतालाई र नेतृत्वलाई दोषारोपण गर्ने हो । व्यवस्थालाई होइन । अर्थात् अवस्थाको बदलाबको लागि आवाज उठाउने हो । सडक तताउने हो । तर लोकतन्त्र जस्तो व्यवस्थालाई परिवर्तन वा रूपान्तरण गर्नेबारे सोच्ने होइन कि यसलाई अझै थप परिष्कृत र व्यवस्थित कसरी बनाउन सकिन्छ भन्नेबारे सोच्नपर्छ ।

-आदर्शविक्रम सिंह

प्रकाशित मितिः   १९ चैत्र २०७८, शनिबार ०५:०५