उद्योग वाणिज्य संघको निर्वाचन तालिका सार्वजनिक

सुर्खेत: सुर्खेत उद्योग वाणिज्य संघको यही चैत २६ गते हुने निर्वाचनका लागि मतदाता नामावली र निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ । मंगलवार मतदाता नामावलीसँगै निर्वाचनका कार्यक्रम सार्वजनिक गरिएको हो ।
निर्वाचन प्रयोजनका लागि वीरेन्द्रनगर–६, बुद्धपथमा निर्वाचन कार्यालय स्थापना गरिएको छ । संघको कार्यालयमा असन्तुष्ट व्यावसायीहरूले लामो समयदेखि तालाबन्दी गरेपछि बाहिर निर्वाचन कार्यालय खोलिएको हो । अधिवक्ताहरू उत्तम आचार्य, नन्द भण्डारी र भानुभक्त गौतम सम्मिलित निर्वाचन मण्डल गठन भएको छ । निर्वाचन मण्डलका सदस्य आचार्यका अनुसार संघको निर्वाचनमा दुई हजार १४ मतदाताले भाग लिन पाउने छन् । उक्त संख्याका फर्महरूले मतदान गर्न पाउने नामावली सार्वजनिक गरिएको हो ।

निर्वाचनका लागि यही चैत २० गते उम्मेदवारी दर्ता र दाबी विरोध तथा २१ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने छ । त्यस्तै, चैत २४ गते राती १२ बजेसम्म उम्मेदवारहरूले प्रचारप्रसार गर्न पाउनेछन् । त्यसपछि निर्वाचनको मौन अवधि सुरु हुने बताइएको छ । मतदानको समय चैत २६ गते बिहान ८ देखि बेलुका ५ बजेसम्म तोकिएको छ । मतदान स्थलको टुँगो भने लागि नसकेको निर्वाचन मण्डलले जनाएको छ ।

प्रकाशित मितिः   १६ चैत्र २०७८, बुधबार ०५:०२