अपाङ्गताप्रति उत्तरदायित्व

महिलामाथि हुने विभेद र हिंसा विकराल छ । घरभित्रै होस् या बाहिर विभिन्न किसिमका हिंसा सहन बाध्य छन् । अपाङ्गता भएका महिलाहरूमाथिको हिंसा अझ चरम छ । समाजले गर्ने विभेदपूर्ण व्यवहारबाट उनीहरू पीडित छन् । घर–परिवार, समाज र सार्वजनिक स्थलमा समेत अपमानजनक व्यवहार खेप्नुपरिरहेको हुन्छ । न अपाङ्गतामैत्री संरचना र कानुन छन्, न त सम्मानजनक व्यवहार नै छ । शारीरिक रूपमा अशक्त र फरक क्षमता भएका महिलाहरूलाई पाइलैपिच्छे विभेद भइरहेको हुन्छ । हिंसा भनेको कुटपिट गर्नु मात्र होइन, भावनामा चोट पु¥याउनु पनि हो । एकातिर लैङ्गिकताका आधारमा हुने विभेद छँदैछ, सँगसँगै अपाङ्गता पनि भएकाले समाजले समेत अनेक हिंसा गरिरहेको छ, अपहेलित हुनुपरेको देखिन्छ । कतिसम्म भने अपाङ्गता भएका व्यक्तिका अधिकारका क्षेत्रमा काम गर्ने अगुवाहरू नै यस्ता विभेद र हिंसाबाट पीडित छन् । अरुका लागि समेत आवाज उठाउने उनी दिनहुँजसो आफै हिंसा भोग्न बाध्य छन् ।

अपाङ्गता भएका महिलाहरू अवसरबाट समेत वञ्चित छन् । सहज रूपमा शिक्षा आर्जन गर्न पाएका छैनन् । दुखजीलो गरेर पढ्ने अवसर पाएकाहरूले पनि अन्य अवसर पाउन कठिन छ । शारीरिक रूपमा अशक्त रहेका उनीहरू मानसिक, आर्थिक तथा यौनजन्य हिंसाको पनि सिकार हुँदै आएका हुन् । अधिकारकर्मीहरूका अनुसार अपाङ्गता भएकाहरू अरु महिलाको तुलनामा बढी नै पीडित छन् । यातना र दुव्र्यवहारबाट उनीहरू निकै आजित बनेका छन् । उनीहरूले सहजै प्रतिकारसमेत गर्न नसक्ने भएका कारण हिंसा धेरै भोगिरहेको पाइन्छ । अपाङ्गता भएका महिला र बालिकामाथि यौनजन्य हिंसा पनि धेरै हुने गरेको छ । तुलनात्मक अवस्थामा परिवार र समाजमा अपाङ्गता भएका महिला र बालिकाहरूलाई नै सबैभन्दा बढी हिंसा भइरहेको छ । अपाङ्गता भएकाहरू सहजै भाग्न वा दौडिन नसक्नु, आँखा नदेख्नुजस्ता कारणले पीडकको पहिचान गर्न समेत समस्या हुने बताइएको छ । हिंसाविरुद्धमा बलपूर्वक प्रतिकार गर्न र सञ्चार गर्न नसक्नुले पनि पीडकलाई कानुनी दायरामा ल्याउन चुनौती छ ।

अपाङ्ग महिलाका समस्या सम्बोधनमा सरोकारवालको चासो नै कम देखिन्छ । घर, परिवार, समाज र राज्यबाट हरेक नागरिकले समान व्यवहार र अवसर पाउनुपर्दछ । तर विभेदपूर्ण व्यवहार कायमै छ । कानुनतः विभेद वर्जित छ । तर व्यवहारमा अपेक्षित सुधार हुन सकेको छैन । यसलाई सुधार्न जरुरी छ । पीडितको सुरक्षा र अधिकारको संरक्षणमा सरकारी निकाय गम्भीर बन्नुपर्ने हुन्छ । अपाङ्गताप्रति बढी उत्तरदायी हुुनुुपर्ने हुन्छ ।

प्रकाशित मितिः   १६ चैत्र २०७८, बुधबार ०५:०३