निर्विरोध नेतृत्वको आवश्यकता

कर्णाली प्रदेशको पहाडी जिल्लामा अवस्थित दैलेख जिल्ला भौगोलिक दृष्टिकोणले हाल सुगम जिल्लामा पर्दछ । धार्मिक, पुरातात्विक, ऐतिहासिक, प्राकृतिक हिसाबले नेपालकै अब्बल र धनी जिल्लाका रुपमा पनि चिनिन्छ । करिब एक दशक पहिला सुर्खेतबाट खच्चरमा सामान बोकाएर व्यापारिक कारोबार गर्ने दैलेख जिल्ला हाल लगभग घरदैलोमा सामान बिक्री गर्न लैजाने वयापारिहरुको होडबाजी नै चलेको छ । उपभोक्ताहरुका लागि यो खुसीको विषय हो ।

२०३७ सालमा स्थापना भएको दैलेख उद्योग वाणिज्य संघ यतिबेला बयस्क अवस्थामा रहेको छ । हाल आफनै संरचनाबाट सचिवालय व्यवस्थित रुपमा चल्नु, सबै पालिकाहरुमा पालिकास्तरीय समितिहरु क्रियाशील हुनु, नियमित कर्मचारी कार्यरत हुनु र प्रशासन तथा स्थानीय सरकारले निजी क्षेत्रको छाता संगठन उद्योग वाणिज्य संघको अस्तित्व स्वीकार गर्नु, सहकार्य गर्नु सकारात्मक पक्षहरु रहेका छन् । चार दशकदेखि उद्योग वाणिज्य संघलाई एउटा मजबुत छाता संगठनका रुपमा स्थापित गर्न सबैको उत्तिकै महत्वपूर्ण देन र योगदान रहेको छ ।
दैलेख उद्योग वाणिज्य संघको चुनावी साधारणसभा केही दिनमा हुन लागिरहेको छ । चुनावमा मूलत विगत र वर्तमानमा भएका राम्रा वा नराम्रा कार्यहरुको समीक्षा, आगामी कार्ययोजनालाई महत्व दिनु पर्दछ । सधारणसभाको तयारी सोही बमोजिम वर्तमान समिति र सचिवालयले गरिरहेको छ ।

चुनाव विशेष गरेर दुई तरिकाले सम्पन्न हुने गर्दछ । पहिलो तरिका सर्वसम्मत हो भने दोस्रो तरिका लोकतान्त्रिक विधि अपनाएर मतदानबाट हो । जब चुनाव आउने गर्दछ, टोली विभक्त भएको खण्डमा म पनि फलानो पदको उम्मेदवार हुन पाएको भए भन्ने जो कोहीलाई पनि लाग्न सक्छ । त्यो कुरा स्वभाविक पनि हो ।

दैलेख जिल्लाको सन्दर्भमा उद्योग वाणिज्य संघको यतिबेलाको प्रमूख आवश्यकता र अनिवार्यता निर्विरोध कार्यसमिति चयन गर्नु हो । विगत तीन वटा साधारणसभाहरुमा हामीले अत्यधिक कि गर कि मरको स्थिती सिर्जना गरेर चुनाव लडेका थियौं । त्यो विगतको अवस्था थियो । अहिले हामी सबैले हाम्रो मनलाई साँक्षी राखेर हेर्ने हो भने कोरोनाका कारण हामी सबैका उद्यम, व्यवसायहरु तहस नहस भएका छन् । लगानी बर्बादीको अवस्था छ । बैंकको ब्याज तिर्न नसकेर, साहुको ऋण तिर्न नसकेर कायौ व्यवसायी तथा उद्यमीहरुको हालत खराब भएको छ । अझ दैलेख सदरमुकामको सन्दर्भमा त त्यहाँको व्यापार स्थानीय बजारमा रुपान्तरण भइसकेको छ । त्यसकारण दैलेख उद्योग वाणिज्य संघको यस पटको चुनाव निर्विरोध बनाउनु पर्ने र हुनु पर्ने आवश्यकता रहेको छ ।

कतिपयलाई चुनाव निर्विरोध किन गराउने भन्ने पनि लाग्न सक्छ । अर्को कुरा निर्विरोध हुँदा हारेको महसुस गर्ने र चुनावमा जाँदा जित्न सकिन्छ भन्ने तर्क पनि उठ्न सक्छ । चुनावको पेरिफेरीमा अनेक प्रकारका धारणा, समूह हुनु स्वभाविक पनि हो । तर दैलेख उद्योग वाणिज्य संघको चुनावमा जिल्लामा क्रियाशील सबै राजनीतिक दलमा आस्था राख्ने उद्यमी, व्यापारीहरुको प्रतिनिधित्व हुने गरी, दैलेख उद्योग वाणिज्य संघको समग्र विकास गर्न, उद्यमी, व्यवसायीहरुको हक अधिकार तथा आइपर्ने समस्याहरु सामाधान गर्न नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने, संस्थालाई अघि बढाउन समय दिन सक्नेहरुलाई पदाधिकारी र सदस्यमा छनौट गर्नु पर्दछ । जसका लागि मूख्य कुरा पहिला वर्तमान पदाधिकारीहरु, पूर्व अध्यक्षहरु, चलायमान उद्यमी, व्यवसायीहरु बसेर सर्वसम्मत बनाउने खाका तयार पार्नु पर्दछ । त्यसपछि जिल्लामा क्रियाशील राजनीतिक दलका नेतृत्वहरुसित बसेर निर्विरोध बनाउने सहमति गर्नु पर्दछ । यो नै आजको मूख्य आवश्यकता हो ।

सहमती कायम गर्नका लागि सबैभन्दा मूख्य कुरा आफुलाई केन्द्रमा नराखेर आजको आवश्यकतालाई केन्द्रमा राख्नु पर्दछ । सहमती लेनदेन हो । लिँदा र दिँदा आफ्नो र आफुले चाहेको होइन, राम्रा र काम गर्न सक्ने, नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने व्यक्तिहरु आउनु पर्दछ र ल्याउनु पर्दछ । हामी स्थानीय तहको निर्वाचनको संघारमा पनि छौं । दैलेख उद्योग वाणिज्य संघको चुनावलाई स्थानीय तहको राजनीतिक चुनावमा जोड्नु हुँदैन । संघको चुनाव एउटा आस्थाको पक्षले जिल्ला अर्को आस्थाको पक्षले हार्ला । त्यो हार–जितलाई स्थानीय तहको चुनावका लागि प्रतिष्ठाको विषय बनाईयो भने निजी क्षेत्रको छाता संस्था संघ बन्न सक्ने छैन । तसर्थ हामी जो–जो विगतदेखी अहिलेसम्म जिम्मेवारी पदमा रहेका छौं । हामी सबैले उच्च त्यागका साथ यसपटक हुन गईरहेको दैलेख उद्योग वाणिज्य संघको चुनवालाई निर्विरोध चुनावका रुपमा बदल्नु पर्दछ । दैलेखका उद्यमी, व्यवसायीहरुले निकै त्याग र वलिदानीपूर्वक संघको चुनाव निर्विरोध बनाउन सफल भए भन्ने सकारात्म सन्देश दिनु पर्दछ ।

अर्को कुरा, चुनाव जितेकालाई एक हप्ता बधाई र हारेकालाई सहानुभूती आउँछ । हामी चुनावमा गयौं भने हाम्रो जित हारको नसा एक हप्ताका लागि मात्र हुनेछ । त्यसपछि जस्तो अवस्था थियो, त्यही अवस्था कायम रहनेछ । यदि सर्वसम्मत भएको खण्डमा तीन वर्षे कार्यकालभरी हामी सबै उद्यमी, व्यवसायीहरुले जित्ने छौं । हाम्रा मनहरु एकाकार हुनेछन् । प्रतिपक्षरहित संस्था हुनेछ । जसका कारणले संस्था बलियो मात्र होइन, संस्थामा आवद्ध सबै उद्यमी, व्यवसायीहरुको समस्याहरु सामाधान भएर जानेछन् । बलियो र कार्यान्वयनमूखी कार्ययोजना बन्नेछ र कार्यान्वयन समेत हुनेछ ।

अन्त्यमा, संघका पूर्व अध्यक्षहरु, वर्तमान समितिका पदाधिकारी, सदस्यहरु, अग्रज उद्यमी, व्यवसायीहरु र राजनीतिक दलका जिल्लामा क्रियाशीलय सबै नेतृत्वहरुलाई दैलेख उद्योग वािण्ज्य संघको यस पटकको चुनावी साधारणसभा चुनावरहित बनाएर सर्वसम्मत कायम गर्न अहम भूमीका निर्वाह गरिदिन अनुरोध गर्दछु । सबैको सकारात्मक भुमिका भयो भने दैलेख उद्योग वाणिज्य संघको चुनाव हुने छैन । सबैको भावनाको प्रतिनिधित्व हुने गरी साझा मञ्चका रुपमा यसपटको चुनाव निर्विरोध हुनेछ भन्ने म पूर्ण विश्वासमा छु ।

(लेखक दैलेख उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हुन् ।)

प्रकाशित मितिः   १४ चैत्र २०७८, सोमबार १४:०५