तोकिए निर्वाचन अधिकृत

सुर्खेत: निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा खटिने मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको नामावली सार्वजनिक गरेको छ । सुर्खेतका नौ वटै पालिकामा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरू तोकिएका छन् । वीरेन्द्रनगरमा मुख्य निर्वाचन अधिकृत रहनेछन् भने अन्य आठ वटा पालिकामा निर्वाचन अधिकृतहरू नियुक्त गरिएको छ । वीरेन्द्रनगर नगरपालिकामा जिल्ला अदालत सुर्खेतका न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यलाई मुख्य निर्वाचन अधिकृत तोकिएको छ । त्यस्तै, गुर्भाकोट नगरपालिकामा उपन्यायाधिवक्ता तुलसा भण्डारी र पञ्चपुरी नगरपालिकामा जिल्ला न्यायाधिवक्ता फटीकराज मुडभरीलाई निर्वाचन अधिकृतका लागि छनोट गरिएको छ । भण्डारी कर्णाली प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयकी उपन्यायाधिवक्ता र मुडभरी जिल्ला सरकारी वकिल कार्यालय सुर्खेतका जिल्ला न्यायाधिवक्ता हुन् ।

यस्तै, भेरीगंगा नगरपालिकामा उच्च सरकारी वकिल कार्यालय सुर्खेतका उपन्यायाधिवक्ता नगेन्द्र लम्साल, लेकवेशी नगरपालिकामा विशेष अदालतका उपसचिव दिपेन्द्रनाथ योगी, सिम्ता गाउँपालिकामा सर्वोच्च अदालतका इजलास अधिकृत नारायण सापकोटा, बराहताल गाउँपालिकामा जिल्ला अदालत सुर्खेतका श्रेस्तेदार ठाकुरप्रसाद पौडेललाई निर्वाचन अधिकृतको जिम्मेवारी दिइएको छ । चिङ्गाड गाउँपालिकामा सहरी विकास मन्त्रालयका कानुन उपसचिव उपेन्द्रकेशर खनाल र चौकुने गाउँपालिकामा उच्च अदालत सुर्खेतका उपरजिष्ट्रार सरोजनिधि वाग्लेलाई निर्वाचन अधिकृत छनोट गरिएको हो । निर्वाचन प्रयोजनका लागि जिल्ला न्यायाधीश र राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृतलाई यही चैत २९ देखि लागू हुने गरी मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतमा नियुक्त गरिने आयोगले जनाएको छ । निर्वाचन अधिकृतहरूको कार्यालय स्थापनाको प्रक्रिया अघि बढाइएको प्रदेश निर्वाचन कार्यालय सुर्खेतले जनाएको छ ।

स्थानीय तह निर्वाचनका लागि न्याय परिषद्को परामर्शमा जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत र न्यायसेवा आयोगको परामर्शमा नेपाल न्यायसेवाका कम्तीमा राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृतलाई निर्वाचन अधिकृतमा नियुक्त गर्ने व्यवस्था छ । निर्वाचन अधिकृत भन्नाले निर्वाचनको कामका लागि आयोगले नियुक्ति गरेको मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत र सहायक निर्वाचन अधिकृतसमेतलाई जनाउँछ । मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतमा छनोट भएकालाई निर्वाचनसम्बन्धी अभिमुखीकरण तालिम प्रदान गरिनेछ । निर्वाचन सञ्चालन र व्यवस्थापन गर्ने मुख्य जिम्मेवारी निर्वाचन अधिकृतको हुन्छ । निर्वाचन कार्यक्रमअनुसार उम्मेदवारको मनोनयन दर्ता गर्ने, मनोनयनउपर उजुरी लिने र छानबिन गर्ने तथा उम्मेदवारको अन्तिम मतदाता नामावली प्रकाशन गर्ने काम निर्वाचन अधिकृतले गर्छन् । त्यस्तै, आचारसंहिताको पालना गराउने, निर्वाचन चिन्ह प्रदान गर्ने, मतदानका लागि कर्मचारी खटाउने, मतदान र मतगणना गराउने, निर्वाचन विवाद निरूपण गर्ने तथा निर्वाचन परिणाम प्रकाशन गरी आयोगमा प्रतिवेदन बुझाउने निर्वाचन अधिकृतको मुख्य जिम्मेवारी हो ।

निर्वाचन नजिकिएपछि जिल्लास्थित निर्वाचन कार्यालयहरू आवश्यक व्यवस्थापकीय तयारीमा लागेका छन् । मतदान अधिकृतको कार्यालय स्थापना, निर्वाचन सामग्री र कर्मचारी व्यवस्थापन, मतदान केन्द्रको अवलोकनलगायतका काम अघि बढाइएको प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले बताए । उनका अनुसार सुर्खेतमा चुनाव चिन्हको माग गर्दै १९ दलले आवेदन दिएका छन् । अबको केही दिनभित्र आयोगले छानबिन गरी चिन्ह प्रदान गर्नेबारे निर्णय गर्नेछ । दलहरूको संगठन संरचना र क्रियाशीलताका आधारमा छानबिन गरेर टुँगो लगाउने आयोगले जनाएको छ । यही चैत १५ देखि निर्वाचन आचारसंहिता लागू हुने भएको छ । त्यसको कार्यान्वयनका सन्दर्भमा पनि सरोकारवाला पक्षसँग छलफलहरू भइरहेको जनाइएको छ । हाल निर्वाचनमा खटिने कर्मचारीको विवरण संकलनका कामहरू भइरहेका छन् । निर्वाचनका लागि कर्मचारी व्यवस्थापन गर्न निर्वाचन कार्यालयहरूले सरकारी कार्यालयबाट जनशक्तिको विवरण लिन सुरु गरिएको हो । आसन्न स्थानीय तहको निर्वाचनलाई केन्द्रित गरेर निर्वाचन कार्यालयहरूले चुनाव अघिका कामहरूमा तीव्रता दिएका हुन् ।

मतदाताको अन्तिम नामावली चैत १३ मा प्रकाशित हुने भनिएपनि आइतवार साँझ यो समाचार तयार पार्दासम्म आयोगले मतदाताको नामावली वेबसाइटमा राखेको छैन । यसअघिको प्रारम्भिक विवरणअनुसार सुर्खेतमा दुई लाख ४० हजार आठ सय एक जना मतदाता रहेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । नामावलीमा रहेका त्रुटि सच्याउँदा सो संख्यामा केही घट्ने आकलन गरिएको छ । सुर्खेतमा मतदान कार्यलाई व्यवस्थित बनाउन एक सय ३८ मतदान स्थल तोकिएको छ भने दुई सय ९२ मतदान केन्द्रहरू प्रस्ताव गरिएका छन् ।

प्रकाशित मितिः   १४ चैत्र २०७८, सोमबार ०५:०७