सुर्खेतका ६ पालिका जित्ने एमालेको दाबी

सुर्खेत: वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा नेकपा (एमाले)ले सुर्खेतका नौमध्ये ६ वटा पालिका जित्ने दाबी गरेको छ । जिल्ला कमिटी बैठकमा स्थानीय तहका अध्यक्षहरूले आफ्नो क्षेत्रको पार्टीको अवस्थाबारे प्रतिवेदन पेस गर्दै यस्तो जिकिर गरेका हुन् । स्थानीय तहका पार्टी अध्यक्षहरूको रिपोर्टअनुसार एक्ला–एक्लै चुनाव लडे एमालेले ६ वटा पालिका सहजै जित्ने बताइएको छ । तीन वटा पालिकामा भने अवस्था कमजोर रहेको एमालेको आकलन छ । एमाले सुर्खेतका प्रचार तथा प्रकाशन विभाग प्रमुख गंगाराम तिमिल्सेनाले वीरेन्द्रनगर, भेरीगंगा र लेकवेशी नगरपालिका तथा सिम्ता, चौकुने र बराहताल गाउँपालिकामा एमालेले जित्ने ‘ग्राउण्ड रिपोर्ट’ आएको जनाए ।

‘तीन वटा पालिकामा कडा प्रतिष्पर्धा हुने देखिएको छ,’ उनले भने, ‘जिल्लामा एमालेको मुख्य प्रतिष्पर्धी दल कांग्रेस नै हो ।’ जिल्ला कमिटी बैठकले पनि चिङ्गाड गाउँपालिका, पञ्चपुरी नगरपालिका र गुर्भाकोट नगरपालिकामा प्रतिस्पर्धात्मक अवस्था रहने निष्कर्ष निकालेको उनले बताए । यसअघि २०७४ को स्थानीय तह निर्वाचनमा एमालेले सुर्खेतका तीन पालिका जितेको थियो ।

यस्तै, स्थानीय तह निर्वाचनको उम्मेदवारीबारे वडा र पालिका कमिटीहरूले वडा अध्यक्ष र सदस्यहरूको सुझाव चैत २५ गतेसम्म पालिका कमिटीमा पठाउने छन् । उक्त सुझावसहित स्थानीय कमिटीले उम्मेदवार सिफारिस गर्ने जिल्ला कमिटी बैठकले निर्णय गरेको छ । स्थानीय तहका कमिटीले पालिका प्रमुख र उपप्रमुखको उम्मेदवारी सम्बन्धमा चैत ३० गतेभित्र जिल्लामा सुझाव पेस गर्ने भनिएको छ । यसरी उम्मेदवारीको सिफारिस गर्दा सर्वसम्मतको प्रयास गर्नुपर्ने निर्णय भएको छ । त्यस्तै, एमाले सुर्खेतले जिल्ला सल्लाहकार परिषद्, ज्येष्ठ कम्युनिष्ट मञ्च र जिल्ला कमिटी सदस्यमा मनोनयन र विभागहरूको विस्तारको जिम्मेवारी सचिवालयलाई दिएको छ ।

प्रकाशित मितिः   १४ चैत्र २०७८, सोमबार ०५:०६