दीक्षान्त समारोह स्थगित

 

सुर्खेत: यही चैत १६ गर्ने निर्धारण गरिएको मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोह स्थगित भएको छ । विश्वविद्यालयको उक्त निर्धारित दीक्षान्त समारोह अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको हो । विश्वविद्यालयले आइतवार एक सूचना जारी गरी समारोह स्थगित गरिएको जानकारी दिएको छ । विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. नारायणप्रसाद पौडेलद्वारा हस्ताक्षरित सूचनामा दीक्षान्त समारोह यसअघि तोकिएको मितिमा नहुने जनाइएको हो । सूचनामा भनिएको छ, ‘दीक्षान्त समारोह सञ्चालनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट फागुन २६ गतेको प्राप्त पत्रानुसार चैत १६ गते सम्पन्न गर्ने गरी समय निर्धारण गरिएको सन्दर्भमा कारणवश हाललाई स्थगित गरिएको छ ।’ विश्वविद्यालयले दीक्षान्त समारोहको अन्तिम तयारी गरिरहेका बेला स्थगित गर्नुपरेको जनाएको छ ।

प्रकाशित मितिः   १४ चैत्र २०७८, सोमबार ०५:०४