परीक्षामा राजनीतिक दल
आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ । यो निर्वाचनले स्थानीय सरकार सञ्चालनका लागि नयाँ जनप्रतिनिधि चयन गर्नेछ । राजनीतिक दलहरू निर्वाचनको तयारीमा जुटेका छन् । चुनावको मिति नजिकिँदै जाँदा निर्वाचन लक्षित गतिविधिलाई तीव्रता दिएका हुन् । सबैजसो दलका नेता कार्यकर्ता आफ्नो पक्षमा जनमत बटुल्न लागेका छन् । केही दिनयता सुर्खेतसहित कर्णाली प्रदेशमा पनि दैनिकजसो पार्टी प्रवेश तथा प्रशिक्षण कार्यक्रमहरू भइरहेका छन् । मतदाता रिजाउन निर्वाचन लक्षित कार्यक्रम लिएर गाउँ पसेका नेताहरू अन्य दलबाट नेता कार्यकर्ता भिœयाउनमै व्यस्त देखिन्छन् ।
पछिल्लो समय जनमत बटुल्ने उद्देश्यले चुुनावी माहोल बनाउन प्रमुख राजनीतिक दलहरूले शीर्ष नेतृत्वलाई समेत जिल्ला र प्रदेशस्तरीय कार्यक्रमहरूमा अतिथिको रूपमा बोलाउने गरेका छन् । एमालेले चैत ६ गते वीरेन्द्रनगरमा आयोजना गरेको बृहत् कार्यकर्ता प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेललाई आमन्त्रण गरेको थियो । त्यस्तै, केही दिन पहिले कांग्रेस महामन्त्री गगनकुमार थापाले सुर्खेतका नेता कार्यकर्तालाई आन्तरिक प्रशिक्षण दिएका थिए । उनले कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी स्थानीय तहको चुनावमा केन्द्रित भएर लाग्न निर्देशन दिएको नेताहरूले बताएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पनि आ–आफ्नो पार्टीका भेला र आमसभालाई सम्बोधन गर्न सुर्खेत आएका थिए । एकीकृत समाजवादीका महासचिव बेदुराम भुसाल पनि कार्यकर्ता प्रशिक्षणका लागि सुर्खेत आएका थिए । माओवादी केन्द्र र राप्रपाले पनि स्थानीय तह निर्वाचन लक्षित गरेर कर्णाली प्रदेशभर विभिन्न अभियानहरू सञ्चालन गरिरहेको जनाएका छन् ।
नेकपा (एमाले) ले विभिन्न प्रशिक्षणमूलक र पार्टी प्रवेश कार्यक्रम गरिरहेको छ । नेपाली कांग्रेसले चुनावलाई केन्द्रित गरेर ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ अभियान सञ्चालन गरेको छ । त्यस्तै, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पनि आसन्न निर्वाचनको तयारीमा होमिएका छन् । यसरी स्थानीय तहको निर्वाचन तयारीमा जुटेका मुख्य दलहरूले ठोस चुनावी एजेण्डा भने सार्वजनिक गरेका छैनन् । राजनीतिक दलहरूले एजेण्डाभन्दा पनि पार्टी प्रवेशलाई प्राथमितामा दिएका छन् । दलहरूले स्थानीय तहको निर्वाचनका लागि चुनावी एजेण्डाविनै प्रचार र पार्टी प्रवेशको होडबाजी गरिरहेका हुन् । यो निर्वाचनले नयाँ प्रतिनिधि छनोट मात्रै गर्नेछैन, राजनीतिक दलहरूको परीक्षणसमेत हुनेछ । अघिल्लो पटक गरेको प्रतिबद्धता कार्यान्वयनको अवस्था नागरिकलाई समीक्षा गर्नेछन् । त्यसका आधारमा आफ्नो मताधिकार प्रयोग गर्नेछन् । त्यसैले पनि स्थानीय तहको निर्वाचनमा राजनीतिक दलहरूले परीक्षा दिनेछन् ।
प्रकाशित मितिः १० चैत्र २०७८, बिहीबार ०५:०४
सम्पादकीय ।