विकासमा सरोकारवालाबीच समन्वय अभाव

ठेक्का लागेको ६ महिनासम्म सुरु भएन काम, विद्युत र खानेपानीका संरचना सार्न ढिलाइ हुँदा सडक विस्तारमा बाधा

सुर्खेत: वीरेन्द्रनगरको मुख्य बजार क्षेत्रको सडक विस्तारका लागि ठेक्का सम्झौता भएको ६ महिना बित्यो । सडक स्तरोन्नतिको काम भने अझै थालिएको छैन । विद्युत र खानेपानीका संरचना सार्ने काममा ढिलाइ हुँदा सडक विस्तारको काममा बाधा परेको हो ।

मंगलगढीदेखि गणेशचोकसम्मको सडक विस्तारका लागि गएको भदौ १७ गते पूर्वाधार विकास निर्देशनालयले खड्का निर्माण सेवा बाँकेसँग ठेक्का सम्झौता गरेको थियो । सम्झौतामा १८ महिनामा काम सक्नुपर्ने उल्लेख छ । त्यसअनुसार निर्माण कम्पनीले २०८० जेठ मसान्तसम्म काम सम्पन्न गर्नुपर्ने हुन्छ । साढे १३ करोड बजेटमा सडक विस्तार गर्नेगरी सम्झौता गरिएको छ । विद्युत लाइन र खानेपानीका संरचनाको समयमै व्यवस्थापन नगरिँदा निर्माण कम्पनीले काम सुरु गर्न सकेको छैन ।

विद्युतका पोल र खानेपानीका पाइप व्यवस्थापनमा लामो समय लगाइएको छ । सरोकारवाला निकायबीच एक आपसमा समन्वय नहुँदा पनि वीरेन्द्रनगरको सडक विस्तार योजनाले गति लिन नसकेको बताइएको छ । सडक विस्तार क्षेत्रमा पर्ने संरचना व्यवस्थापन गर्न सम्बन्धित सबै निकायलाई पत्राचार गरिसकिएको पूर्वाधार विकास निर्देशनालयले जनाएको छ । ‘काम गर्नुपर्ने क्षेत्र खाली भएको छैन । यसले गर्दा ठेकेदार कम्पनीले सडक विस्तार कार्य सुरु गर्न सकेको छैन,’ निर्देशनालयका इन्जिनियर सूर्य शाही भन्छन्, ‘त्यसका लागि आवश्यक पहल भइरहेको छ ।’

नेपाल विद्युत प्राविधिकरण सुर्खेत वितरण केन्द्रले सडक विस्तार क्षेत्रमा पर्ने विद्युतका पोल तथा लाइन सार्न गत पुस ३ गतेदेखि काम थालेको थियो । तर, हालसम्म ६० प्रतिशत काम मात्र सम्पन्न भएको वितरण केन्द्र प्रमुख युवराज रावत बताउँछन् । ‘नियमित काम गर्न नपाउँदा ढिलाइ भइरहेको छ,’ उनले भने, ‘विद्युत अनियमित गर्न पनि नहुने र संरचना पनि सार्नुपर्ने भएकाले कठिनाइ भइरहेको हो ।’ बिदाको दिन मात्रै केही समयका लागि लाइन काटेर विद्युतका संरचना सार्नुपर्ने भएकाले काम लम्बिएको उनले बताए । वितरण केन्द्रका अनुसार अरु काम करिब–करिब सकिएको छ । ‘पोल सारिसकिएको छ, ट्रान्सफर्मका फाउन्डेसन पनि बनिसके’, रावतले भने, ‘तारहरू सार्न मात्र बाँकी छ ।’ अब तीन÷चार दिन लाइन काटेरै भएपनि संरचना सार्ने गरी तयारी गरिएको उनले बताए । पुराना संरचना हटाउनुपर्ने भएकाले पनि केही समय ढिलाइ हुन गएको वितरण केन्द्रले जनाएको छ ।

मंगलगढीदेखि गणेशचोकसम्मको मुख्य सडकमा पर्ने विद्युत लाइनको व्यवस्थापन गर्न वितरण केन्द्रले ठेक्कामा काम अघि बढाएको छ । जसअन्तर्गत ११ मिटरका ४५ वटा तथा आठ र नौ मिटरका ३३ वटा पोलका साथै तारहरू सारिदै छन् । यो कामको जिम्मा रेस कन्ट्रक्सन प्रा.लि.ले लिएको छ । उक्त ठेकेदार कम्पनीसँग मंसिर २९ मा विवतरण केन्द्रले सम्झौता गरेको हो । सम्झौताअनुसार एक महिनामा यो क्षेत्रमा पर्ने विद्युतका पोल तथा तार हटाइसक्नु पर्ने भनिएको थियो । तीन महिना भइसक्दा पनि काम अधुरै छ । सडक निर्माणपछि पुनः पोल तथा तार जडानको कामको पनि सोही कम्पनीसँग सम्झौता भएको वितरण केन्द्रले जनाएको छ । दुई चरणकै कामका लागि ६ लाख ४६ हजार ६ सय ६९ रूपैयाँमा ठेक्का सम्झौता गरिएको छ । संरचना सार्न आवश्यक सामग्री वितरण केन्द्रले नै व्यहोर्ने छ भने ठेकेदार कम्पनीसँग ज्यालाका लागि मात्र सम्झौता गरिएको हो ।

सडक विस्तार क्षेत्रमा खानेपानीका संरचना पनि सार्नुपर्ने छ । उक्त काम भने सुरु नै हुन सकेको छैन । सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाका इन्जिनियर बालाराम तिवारीले सडक विस्तार क्षेत्रको पूर्व र पश्चिममा गरी खानेपानीका दुई वटा लाइन सार्नुपर्ने देखिएको बताए । ‘हामीले पहिले नै लागत स्टिमेट गरेर नगरपालिकालाई दिएका थियौं । पूर्वाधार विकास निर्देशनालय र नगरपालिकासँगको पछिल्लो छलफलअनुसार पुनः स्टिमेट गर्नुपर्ने भएको छ ।’ यसअघिको स्टिमेटमा खानेपानीका पाइप सार्न ५२ लाख रूपैयाँ लागत लाग्ने बताइएको थियो । इन्जिनियर तिवारीले खानेपानीका पाइपलाइन लगायतका संरचना व्यवस्थापनका लागि झन्डै एक महिनाको समय लाग्ने आकलन गरिएको जनाए । संरचना व्यवस्थापनको लागत पूर्वाधार विकास कार्यालयले व्यहोर्ने भएपनि खर्च कुन विधिबाट कसरी गर्ने भन्नेबारे अझै टुँगो लागि नसकेको उनी बताउँछन् ।

वीरेन्द्रनगरको मंगलगढी–गणेशचोकको अहिले सात मिटर चौडा सडक छ । त्यसलाई विस्तार गरेर १५ मिटर चौडाइको बनाइँदै छ । विद्युत र खानेपानीका संरचना हटाउन ढिलाइ हुँदा सम्झौता गरेको लामो समयसम्म काम अघि बढाउन नसकिएको निर्माण कम्पनीको गुनासो छ । ‘साइड क्लियर नभइ काम सुरु गर्न सक्ने अवस्था छैन,’ निर्माण व्यवसायी टेकबहादुर खड्काले भने, ‘सम्बन्धित निकायलाई त्यसका लागि बारम्बार अनुरोध गरिरहेका छौं, सुनुवाइ भने भएको छैन ।’

सवारी–साधनको चाप दिन प्रतिदिन बढ्दै गएपनि वीरेन्द्रनगर बजार क्षेत्रका सडक साँघुरा र जीर्ण छन् । सडक स्तरोन्नतिका काममा समेत ढिलासुस्ती हुँदा पछिल्लो समय समस्या झनै बढेको छ । सम्बन्धित निकायकै उदासीनताका कारण विकास निर्माणका कामले गति लिन नसकेको नगरबासीको गुनासो छ ।

प्रकाशित मितिः   १० चैत्र २०७८, बिहीबार ०५:०५