दल बदल्ने होडबाजी

सबैजसो दलका नेता–कार्यकर्ता आफ्नो पक्षमा जनमत बटुल्न लागेका छन्

सुर्खेत: राजनीतिक दलहरू आउँदो वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको तयारीमा जुटेका छन् । चुनावको मिति नजिकिँदै जाँदा राजनीतिक दलहरूले निर्वाचन लक्षित गतिविधिलाई तीव्रता दिएका हुन् । सबैजसो दलका नेता कार्यकर्ता आफ्नो पक्षमा जनमत बटुल्न लागेका छन् । तर, दलहरूले स्थानीय तहको निर्वाचनका लागि चुनावी एजेण्डाविनै प्रचार र पार्टी प्रवेशको होडबाजी गरिरहेका हुन् । केही दिनयता ठाउँ ठाउँमा दैनिकजसो पार्टी प्रवेश तथा प्रशिक्षण कार्यक्रमहरू भइरहेका छन् । मतदाता रिजाउन निर्वाचन लक्षित कार्यक्रम लिएर गाउँ पसेका नेताहरू अन्य दलबाट नेता कार्यकर्ता भिœयाउनमै व्यस्त देखिन्छन् ।

नेकपा (एमाले) ले विभिन्न प्रशिक्षणमूलक र पार्टी प्रवेश कार्यक्रम गरिरहेको छ । नेपाली कांग्रेसले चुनावलाई केन्द्रित गरेर ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ अभियान सञ्चालन गरेको छ । त्यस्तै, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पनि आसन्न निर्वाचनको तयारीमा होमिएका छन् । यसरी स्थानीय तहको निर्वाचन तयारीमा जुटेका मुख्य दलहरूले ठोस चुनावी एजेण्डा भने सार्वजनिक गरेका छैनन् । राजनीतिक दलहरूले एजेण्डाभन्दा पनि पार्टी प्रवेशलाई प्राथमितामा दिएका छन् । एमालेले पछिल्लो एक महिनामा अरु राजनीतिक दल छोडेर आउने सयौं नेता कार्यकर्तालाई पार्टीमा भिœयाएको जनाएको छ । एमाले सुर्खेतका प्रचार तथा प्रकाशन विभाग प्रमुख गंगाराम तिमिल्सेना माओवादी केन्द्र र एकीकृत समाजवादीबाट ठूलो संख्याले एमाले प्रवेश गरेको बताउँछन् । उनले प्रदेश, जिल्ला र स्थानीय कमिटी तथा जनप्रतिनिधिको पद त्यागेर नेताहरू एमालेमा आइरहेको जनाए । तिमिल्सेना भन्छन्, ‘एमालेलाई कम्युनिष्ट आन्दोलनको मूलप्रवाह र विगतको नेकपाकै निरन्तरताको रूपमा नेता कार्यकर्ताले हेर्नुभएको छ ।’ कार्यकर्ता धमाधम भिœयाइरहेको एमालेले स्थानीय तहका लागि पार्टीका एजेण्डा भने अहिलेसम्म सार्वजनिक गरेको छैन । स्थानीय तहलाई विकासको केन्द्र बनाउने घोषणा–पत्र सार्वजनिक गर्ने तयारी भइरहेको सुर्खेत एमालेले जनाएको छ । ‘विकास र रोजगारी सिर्जना हाम्रा मुख्य एजेण्डा हुनेछन्,’ प्रचार तथा प्रकाशन विभाग प्रमुख तिमिल्सेनाले भने, ‘भोलि चैत ९ गते पार्टी केन्द्रले स्थानीय तह निर्वाचन लक्षित गरी घोषणा–पत्र जारी गर्दै छ । अबको केही दिनमा जिल्लाले पनि छुट्टै चुनावी एजेण्डासहितका घोषणा–पत्र ल्याउने छ ।’

नेपाली कांग्रेस पनि पार्टी प्रवेशसँगै चुनावी अभियान लिएर गाउँ–गाउँमा छिरेको छ । स्थानीय तहको चुनावी परिणाम आफ्नो पक्षमा पार्ने तयारीका साथ कांग्रेसले कर्णाली प्रदेशका सबै जिल्लामा ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ अभियान सुरु गरेको हो । अभियानअन्तर्गत कांग्रेस कर्णाली प्रदेश सभापति ललितजंग शाहीसहितको टोली यतिबेला डोल्पा पुगेका छन् । प्रदेश र जिल्ला तहका नेताहरू अभियान प्रभावकारी बनाउन गाउँ केन्द्रित भएको कांग्रेसले जनाएको छ । हालसम्म प्राप्त उपलब्धीको रक्षाका लागि सबै तहमा कांग्रेस नेतृत्वमा आउनुपर्ने दाबी गरिरहेका नेताहरूले स्थानीय निर्वाचनका निश्चित चुनावी एजेण्डा भने बनाएका छैनन् । नेपाली कांग्रेसले थालेको देशव्यापी अभियानलाई कांग्रेस सुर्खेतले पनि निरन्तरता दिइरहेको छ । गत फागुन २६ गतेदेखि कांग्रेसले सुर्खेतमा चुनावी अभियान थालेको हो । अभियान अन्तर्गत एमाले र माओवादी केन्द्र परित्याग गरी सयौं कार्यकर्ता भिœयाइएको दाबी कांग्रेसको छ । अभियानमा स्थानीय तहको विकाससम्बन्धी एजेण्डाभन्दा पनि कांग्रेसले पार्टी प्रवेशलाई नै जोड दिएको छ ।

यसैगरी, नेकापा (एकीकृत समाजवादी) ले स्थानीय तह निर्वाचनलाई मध्यनजर गर्दै जनमत बटुल्ने अभियान थालेको छ । पार्टी स्थापनापछि पहिलो पटक स्थानीय तहको निर्वाचनमा भिड्न लागेको समाजवादीले ‘जनतामा जाऔं, एकीकृत समाजवादीलाई जिताऔं’ अभियान सञ्चालन गरिरहेको छ । एकीकृत समाजवादीका जिल्ला अध्यक्ष मोहनसिंह बडुवालले नयाँ पार्टी भएकाले आफूहरूले संगठन निर्माण र निर्वाचनको तयारी एकैसाथ गरिरहेको बताए । स्थानीय तह निर्वाचनमा समाजवादीका प्रमुख एजेण्डा विकास र सुशासन हुने उनी बताउँछन् । यद्यपि, समाजवादीले पनि स्थानीय चुनावका लागि निश्चित एजेण्डा तय गरिसकेको छैन । ‘चुनावी घोषणा–पत्र केही दिनभित्र सार्वजनिक हुँदैछन्,’ बडुवालले भने, ‘विकास र समृद्धिलाई मुख्य आधार बनाएर मस्यौदा तयार गरिएको छ । त्यसलाई अन्तिम रूप दिएपछि सार्वजनिक गरिनेछ ।’ उनले स्थानीय तहकै चुनाव केन्द्रित भएर फागुन २८ मा जिल्ला र चैत ६ गते प्रदेशस्तरीय बैठकहरू सम्पन्न गरिएको जनाए । अहिले समाजवादीले पालिकास्तरका बैठक र जिम्मेवारी तोकेर नेताहरूलाई निर्वाचन क्षेत्रहरूमा परिचालन गरिरहेको छ । समाजवादीले पालिका तहसम्म चुनावी सहजकर्ता तोकेको छ । निर्वाचन समन्वय कमिटीको जिम्मेवारी बाँडफाँट गरेर स्थानीय चुनावमा जाने निर्णय गरेको अध्यक्ष बडुवालले जानकारी दिए ।

पछिल्लो समय जनमत बटुल्ने उद्देश्यले चुुनावी माहोल बनाउन प्रमुख राजनीतिक दलहरूले शीर्ष नेतृत्वलाई समेत जिल्ला र प्रदेशस्तरीय कार्यक्रमहरूमा अतिथिको रूपमा बोलाउने गरेका छन् । एमालेले चैत ६ गते वीरेन्द्रनगरमा आयोजना गरेको बृहत् कार्यकर्ता प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेललाई आमन्त्रण गरेको थियो । त्यस्तै, केही दिन पहिले कांग्रेस महामन्त्री गगनकुमार थापाले सुर्खेतका नेता कार्यकर्तालाई आन्तरिक प्रशिक्षण दिएका थिए । उनले कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी स्थानीय तहको चुनावमा केन्द्रित भएर लाग्न निर्देशन दिएको नेताहरूले बताएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पनि आ–आफ्नो पार्टीका भेला र आमसभालाई सम्बोधन गर्न सुर्खेत आएका थिए । एकीकृत समाजवादीका महासचिव बेदुराम भुसाल पनि कार्यकर्ता प्रशिक्षणका लागि सुर्खेत आएका थिए । माओवादी केन्द्र र राप्रपाले पनि स्थानीय तह निर्वाचन लक्षित गरेर कर्णाली प्रदेशभर विभिन्न अभियानहरू सञ्चालन गरिरहेको जनाएका छन् ।

प्रकाशित मितिः   ९ चैत्र २०७८, बुधबार ०५:०४