जनपरिचालन अभियान गर्दै समाजवादी

सुर्खेत: नेकपा (एकीकृत समाजवादी) ले स्थानीय तहको निर्वाचन लक्षित १५ दिने जनपरिचालन अभियान सञ्चालन गर्ने भएको छ । समाजवादीको आइतवार वीरेन्द्रनगरमा भएको कर्णाली प्रदेश कमिटी बैठकले प्रदेशभर अभियान सञ्चालन गर्ने कार्यतालिका पारित गरेको हो ।

प्रदेश अध्यक्ष अम्मरबहादुर थापाका अनुसार ‘जनतामा जाऔं, एकीकृत समावादीलाई जिताऔं’ भन्ने नाराका साथ जिल्ला, पालिका, वडा र टोलस्तरीय अभियान सञ्चालन गरिनेछ । अभियान सफल बनाउन दश वटै जिल्लामा सहजकर्ता परिचालन गरिने भएको छ । यसका लागि चन्द्रबहादुर शाहीलाई हुम्ला, शेरबहादुर केसीलाई रूकुम, हंशबहादुर शाही डोल्पा, अम्मरबहादुर थापा दैलेख, देविलाल थापा जुम्ला, नन्दा शर्मा सल्यान, ठकेन्द्रप्रकाश पुरी सुर्खेत, कृष्णबहादुर बिसी जाजरकोट, कुर्मराज शाही कालीकोट र गोपाल बमलाई मुगुको जिम्मेवारी तोकिएको छ ।

यसबाहेक निर्वाचनमा पार्टीलाई जिताउने बैठकले चैत १५ गते दश वटै जिल्लामा र १८ गते ७९ पालिकामा निर्वाचन परिचालन कमिटी घोषणा गर्ने निर्णय पनि गरेको छ । त्यसैगरी नेकपा (जनवादी) र राष्ट्रिय जागरण परिषद्सँग भएको एकीकरणपछि कर्णालीमा थपिएका ११ जना सदस्यलाई सपथ ग्रहण गराइएको छ भने १२ सदस्यीय कार्यालय, ४७ सदस्यीय सचिवालय गठन गरिएको छ । यस्तै २७ वटा विभाग गठन गरी पदाधिकारी र सदस्यहरूको कार्यविभाजन पनि गरिएको छ ।

प्रदेश कमिटीले गरेको निर्णयबारे जानकारी दिन सोमवार आयोजित पत्रकार सम्मेलनमा पार्टीका उपमहासचिव एवम् कर्णाली प्रदेश ईन्चार्ज प्रकाश ज्वालाले आगामी निर्वाचनमा केन्द्रित हुने गरी पार्टीले अभियान थाल्ने बताए । साथै उनले अहिलेको सत्ता गठबन्धनबीच चुनावी तालमेल हुने समेत बताएका छन् । गठबन्धन बन्दादेखि नै आपसी समझदारी बनेको भन्दै ज्वालाले तालमेल गर्दा गठबन्धनभित्रका सबै दललाई फाइदा पुग्ने समेत बताए ।

प्रकाशित मितिः   ८ चैत्र २०७८, मंगलवार ०५:०२