गिरिजाप्रसाद कोइरालाको सम्झनामा विचार गोष्ठि

सुर्खेत: नेपाली कांग्रेसका तत्कालीन सभापति तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको बाह्रौं स्मृति दिवस मनाइएको छ । दिवसको अवसरमा गिरिजाप्रसाद कोइराला फाउण्डेशन सुर्खेतले सोमवार वीरेन्द्रनगरमा विचार गोष्ठी कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रमका सहभागीहरूले कोइरालाको योगदानलाई स्मरण गर्दै उनकै कारण नेपालीले शान्ति र संविधान दुवै पाएको बताएका छन् । कार्यक्रममा प्राध्यापक हरिहर बस्नेतले स्वर्गीय काइरालाले नेपाली राजनितिमा पुर्‍याएको महत्वपूर्ण योगदानको चर्चा गर्दै कार्यपत्र प्रस्तुत गरेका थिए । कोइराला कांग्रेसको मात्र नभएर सिंगो नेपालीको नेता हुन सफल भएको बस्नेतको टिप्पणी थियो ।

मध्यपश्चिम विश्वविधालयका पूर्व डिन पिताम्वर ढकालले राजनैतिक यात्राको दौरानमा नेपाली जनताले अहिले पाउँदै आएको स्वतन्त्रतामा गिरिजाप्रसाद कोइरालाको ठूलो योगदान रहेको बताए । उनले अहिले नेपालका सबै राजनीति दलहरू कांग्रेसले लिएको लोकतन्त्रको नीतिभित्र समावेश भइसकेको समेत दाबी गरे । ढकालले पाटीभित्रका सबै नेताहरू एउटै विचार र भावनाका साथ अघि बढे कोइरालाको सपना पूरा हुने जिकिर गरेका थिए ।

नेपाली कांग्रेस कर्णाली प्रदेशका सदस्य शम्भु पन्तले गिरिजाप्रसाद कोइरालाको विचारलाई आत्मसात गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिए । प्रजातन्त्र, लोकतन्त्र र समाजवाद देशको मेरुदण्ड भएको भन्दै यसलाइ सस्थागत गर्नु अहिलेको आवश्यकता रहेको उल्लेख गरेका थिए ।

कार्याक्रममा नेपाली कांग्रेस सुर्खेतका निवर्तमान सभापति कमलराज रेग्मीले गिरिजाप्रसाद कोईरालाले स्थापना गरेको सहमति, सहकार्य र एकतालाई अनुसरणगर्दै अगाडि बढ्न सकेमात्र आगामी निर्वाचनमा कांग्रेसले बहुमत प्राप्त गर्ने बताए । उनले गठबन्धनका नाममा सुर्खेत कांग्रेसका मतदाताले अन्य पाटिमा मत हाल्न नसक्ने समेत बताए । पार्टीभित्र एकतालाइ मजबुत बनाउन नेतृत्वलाइ आग्रह समेत गरे ।

कार्यपत्रमाथि टिप्पणी गर्दै निवर्तमान क्षेत्रीय सभापति नारायणकुमार कोइरालाले गिरिजाप्रसाद कोइरालाको नेपालमा मात्र नभएर अन्तर्राष्ट्रियस्तरमा समेत चर्चा हुने भएकाले उनलाइ दक्षिण एसियाकै शिर्ष नेताका रूपमा हेरिने गरेको उल्लेख गरे । कार्यक्रम जीपी कोइराला फाउण्डेशन सुर्खेतका अध्यक्ष ललित भटराइको अध्यक्षतामा सम्पन्न भएको हो ।

प्रकाशित मितिः   ८ चैत्र २०७८, मंगलवार ०५:०१