१५ वर्षपछि शनिगाउँ पुग्यो प्रहरी

जुम्ला: जुम्लाको सिँजा गाउँपालिका वडा नम्वर ५ मा दरबन्दी स्वीकृत भएको १५ वर्षपछि प्रहरी चौकी स्थापना भएको छ । भौगोलिक रूपमा निकै विकट शनिगाउँमा प्रहरी चौकी स्थापना गरिएको हो ।

वि.सं. २०६३ सालमा प्रहरी चौकी स्थापनाका लागि दरबन्दी स्वीकृत भएको थियो । त्यसयता यहाँका नागरिकहरू प्रहरी चौकी स्थापना हुनुपर्ने भन्दै पटकपटक केन्द्रमा पुगेका थिए । तर भौतिक संरचना र जनशक्ति पर्याप्त नहुँदा १५ वर्षसम्म प्रहरीको उपस्थिति हुन सकेको थिएन । अहिले साविकको स्वास्थ्य चौकीमा प्रहरी चौकी स्थापना गरिएको हो ।

प्रहरी चौकी स्थापना भएपछि स्थानीयबासिन्दा पनि खुसी भएका छन् । यसले शान्ति सुरक्षा कायम गर्नुका साथै गाउँमा फैलिएको विकृति नियन्त्रण गर्न सहयोग पुग्ने स्थानीय जगत बुढाले बताए । सिँजा–६ का वडा अध्यक्ष कालीबहादुर बुढाका अनुसार समाजमा अब लुकेका वा दबेका आवाज बाहिर आउने छन् ।

प्रमुख जिल्ला अधिकारी बिजयाकुमारी प्रसाईले प्रहरी चौकीको उद्घाटन गरेकी हुन् । उनले अब सुरक्षाको अनुभूति गर्ने दाबी गर्दै भनिन्, ‘भौगोलिक विकटताका कारण यहाँका जनताले असुरक्षाको महसुस गरिरहेका थिए । गाउँघरमा हुने सबै प्रकारका घटना बाहिर आउन सक्दैनथ्यो । अब प्रहरी चौकी स्थापना भइसकेकोले सबै प्रकारका हिंसा अन्त्य गर्न स्थानीय र प्रहरीको प्रभावकारी साझेदारी हुनेछ ।’

समुदाय प्रहरी साझेदारी कार्यक्रमद्वारा सुचना बस्ती बस्तीमा पु¥याइने जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले बताए । बालविवाह, बहुविवाह, घरेलु तथा लैंगिक हिंसा र लागू औषध दुव्र्यसनी रोक्न यो प्रहरी चौकिले भुमिका खेल्ने उनको भनाइ छ ।

चौकीमा हवल्दार नरिमा कठायतको कमाण्डमा पाँच जना प्रहरी खटाइएको छ । ‘भौगोलिक रूपमा निकै विकट भएकोले सिँजा गाउँपालिकाको ५ र ६ मा घरेलु हिंसा, दुव्र्यवहार, कुटपिट, बहुविवाह र चोरीका घटना अधिकतम् रूपमा हुने गरेका छ,’ वडाध्यक्ष मुनबहादुर रावतले भने, ‘पहिलेदेखि प्रहरी चौकीको माग गरिएको थियो । अहिले आएर चौकी स्थापना हुँदा निकै सन्तुष्टि मिलेको छ ।’

प्रकाशित मितिः   ६ चैत्र २०७८, आईतवार ०५:०४