सांसद विष्टलाई राजीनामा फिर्ता लिन निर्देशन

सुर्खेत: नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश संसदीय दलले पार्टीका प्रमुख सचेतक ठम्मरबहादुर विष्टलाई नियमित कामकाजमा फर्कन निर्देशन दिएको छ । बिहीवार दल नेता महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको बैठकले उनलाई अबको तीन दिनभित्रै राजीनामा फिर्ता लिई पार्टीको कार्यमा फर्कन निर्देशन दिएको हो ।

विष्टले गत फागुन २७ गते प्रदेशसभा सदस्य र प्रमुख सचेतक पदबाट राजीनामा दिँदै माओवादी परित्याग गरेको घोषणा गरेका थिए । पार्टी नेतृत्वको कार्यशैलीप्रति चर्को असन्तुष्टि जनाउँदै उनले राजीनामा दिएका थिए । अमेरिकन् सहयोग अनुदान एमसीसी पारित गर्नु गलत भएको विष्टको टिप्पणी थियो । यसका साथै पार्टीभित्र योगदान र क्षमताका आधारमा नभइ पहुँचका आधारमा अवसर दिने गरिएको भन्दै उनले माओवादी परित्याग गरेका हुन् ।

विष्टले प्रदेशसभा सचिवालयमा पुगेर राजीनामामा सनाखत गर्न भने बाँकी नै छ । उनले आज (शुक्रवार) सनाखत गर्ने जनाएका छन् । साथै केही समयभित्रै अर्को कुनै दल रोज्नेसमेत विष्टले बताए । उनले यसअघि पनि माओवादी परित्याग गरी नेकपा (एमाले) मा प्रवेश गरेका थिए । पछि पुनः माओवादीमै फर्किएका थिए ।

साथै संसदीय दलले प्रदेशसभालाई प्रभावकारी बनाउनका लागि दलले खेल्नुपर्ने भूमिकाका बारेमा पनि छलफल गरेको छ । त्यस्तै आगामी वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा पार्टीमा जनलहर सिर्जना गर्न र पहिलो शक्तिको रूपमा स्थापित गर्नका लागि प्रदेशसभा सदस्यहरूलाई आ–आफ्नो निर्वाच क्षेत्रमा खट्न आग्रह गरिएको छ । सांसद नरेश भण्डारीले भने, ‘सरकारका कामकारबाहीलाई प्रभावकारी तरिकाले परिणाममुखी तरिकाले बनाउनका लागि आवश्यक सहयोग गर्ने पार्टीबाट सरकारमा पठाइएका मन्त्रीहरूलाई जनपक्षिय रूपमा काम गर्न निर्देशन गर्ने निर्णय पनि भएको छ भने रिक्त रहेको प्रदेशसभाको अर्थ तथा प्राकृतिक स्रोत समितिमा प्रदेशसभा सदस्य कृष्णा शाहलाई पठाउने निर्णय गरिएको छ ।’

प्रकाशित मितिः   ४ चैत्र २०७८, शुक्रबार ०५:०३