हिंसामुक्त कार्यस्थल बनाउन पहल

सुर्खेत: पत्रकार महिलाहरूमाथि कार्यस्थलमा हुने हिंसा रोक्न सरोकारवालाहरूले प्रतिबद्धता जनाएका छन् । मिडिया एड्भोकेशी ग्रुप, सोलिडारिटी सेन्टर र फरकबाटो मिडियाको समन्वयमा बिहीवार वीरेन्द्रनगरमा आयोजित छलफलका सहभागीहरूले हिंसामुक्त कार्यस्थल बनाउन भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका हुन् ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका उपाध्यक्ष विमला खड्काले महिलाहरूका बारेमा नकारात्मक टिप्पणी गर्ने, सामाजिक सञ्जालमा अपमान हुनेगरी लेख्नेहरूलाई कानुनी दायरामा ल्याउनुपर्ने बताइन् । प्रदेशका महासचिव खगेन्द्र भट्टराईले हिंसा र दुव्र्यवहारको सिकार पुरुषसमेत भएकोले यसको विषयमा समेत सोच्नुपर्ने धारणा राखे ।

महासंघ सुर्खेतका अध्यक्ष ललित बसेलले पत्रकार महिलाहरू सहकर्मीबाटै असुरक्षित हुँदा काम गर्ने वातावरण नहुने बताए । महासंघले पत्रकार महिलाहरूको सुरक्षाको विषयमा सोच्नुपर्ने बेला आएको भन्दै उनले हिंसा र दुव्र्यवहार गर्नेहरूले माफी नमागे कानुनी कारबाहीका लागि अगाडि बढ्न सुझाए । उनले सञ्चार माध्यमहरूले पत्रकार महिलाहरूलाई सुरक्षाको ग्यारेन्टि दिनुपर्ने धारणा राखे । उपाअध्यक्ष सुदिप पुरीले सामाजिक सञ्जालहरूमा पछिल्लो समय पत्रकार महिलाहरूका विषयमा नकारात्मक टिप्पणी आइरहेको भन्दै समयमै सचेत नगराए दुव्र्यवहार गर्नेहरूको मनोबल झन् बढ्ने तर्क गरे ।

यसका साथै सामाजिक सञ्जालमा पत्रकार महिलाहरूको मानमर्दन हुनेगरि विभिन्न नकारात्मक टिप्पणी गर्नेहरूलाई सजग गराउन प्रेस विज्ञप्तिमार्फत पत्रकार महासंघ कर्णाली प्रदेश र जिल्ला शाखालाई समेत ज्ञापनपत्र बुझाइएको छ ।

प्रकाशित मितिः   ४ चैत्र २०७८, शुक्रबार ०५:०२