एकीकृत समाजवादीका वडाध्यक्ष एमालेमै फर्किए
सुर्खेत: वीरेन्द्रनगर नगरपालिका–१० का वडाध्यक्ष रत्नबहादुर बुढा नेकपा (एमाले)मा फर्किएका छन् । पार्टी विभाजनपछि नेकपा (एकीकृत समाजवादी) रोजेका उनी फेरि एमालेमै प्रवेश गरेका हुन् । एमाले स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश इञ्चार्ज यामलाल कंडेलले बिहीवार उनलाई पार्टीमा स्वागत गरेका छन् । बुढा एकीकृत समाजवादीका प्रदेश कमिटी सदस्यसमेत रहेका थिए ।
उनीसहित समाजवादीका अन्य नेताहरू पनि पुनः एमालेमा फर्किएका छन् । विभाजनपछि समाजवादी बनेका वीरेन्द्रनगर–१० का जागुराम थारु एमालेमै फर्किएका हुन् । थारु समाजवादीका प्रदेश कमिटी सदस्य रहेका थिए । त्यस्तै, समाजवादीकी जिल्ला कमिटी सदस्य विमला थापा, नगर सदस्य चन्द्रबहादुर सुनार, भक्त आले, प्रविन शाही, मिनबहादुर थापा, नगर युवा अध्यक्ष हरि विसी र वीरेन्द्रनगर नगरपालिका–१० का वडा सदस्य सुनिता चौधरी पनि एमालेमा फिर्ता भएका छन् । पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेता कंडेलले एमालेको विकल्प एमाले नै भएको बताए । उनले एकताबद्ध एमाले बनाउँदै सबै नेता–कार्यकर्तालाई आसन्न स्थानीय तहको चुनावी अभियानमा केन्द्रीत भएर लाग्न निर्देशनसमेत दिए ।
प्रकाशित मितिः ४ चैत्र २०७८, शुक्रबार ०५:०१
साझा बिसौनी ।