रंगशालाको क्षमता बढाउन पहल
सुर्खेत: निर्माणाधिन प्रदेश रंगशालाको क्षमता विस्तारका लागि पहल थालिएको छ । वीरेन्द्रनगरमा निर्माण भइरहेको रंगशालाको सिट क्षमता बढाउन गठित कार्यदलले अध्ययन तथा सरोकारवालाहरूसँग छलफल थालेको छ ।
प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष प्रमोद हमालको संयोजकत्वमा गठित कार्यदलले आवश्यक जग्गा प्राप्तिका लागि वीरेन्द्रनगर नगरपालिका र मध्यपश्चिम विश्वविद्यालयसँग परामर्श सुरु गरेको हो । समितिले रंगशालाको सिट क्षमता वृद्धि गर्न आवाश्यकता, सम्भाव्यता र उपयुक्तताको अध्ययनका लागि सोमवार विश्वविद्यालयका उपकलपति प्रा.डा. नन्दबहादुर सिंहसँग छलफल गरेको छ ।
अहिले निर्माण थालिएको रंगशालामा १० हजार दुई सय जना अट्न सक्ने सिट क्षमता रहेको छ । यसलाई वृद्धि गरेर १५ हजार दर्शक अट्ने बनाउन परिषद्ले काम थालेको छ । आवश्यक जग्गाको प्राप्तिका लागि फागुन २० गते कार्यदल गठन गरिएको थियो । वीरेन्द्रनगर नगरपालिका र विश्वविद्यालयले थप जग्गा दिएमा १५ हजार दर्शक अट्ने रंगशाला बनाउन सकिने प्रारम्भिक अध्ययनले देखाएका छ । त्यसका लागि रंगशालाको उत्तरतर्फ रहेको वीरेन्द्रनगर नगरपालिकाले १० देखि १५ मिटर र पश्चिमतर्फ विश्वविद्यालयले १५ मिटर जग्गा उपलब्ध गराउनुपर्ने हुन्छ ।
कार्यदलका संयोजक हमालले प्रारम्भिक छलफलका क्रममा नगरपालिकाले जग्गा दिने कुरामा सहमति जनाएको जानकारी दिए । तर विश्वविद्यालयसँग छलफल भएपनि सहमति भएको छैन । ‘हामीले आवश्यक छलफल र पहल गरिरहेका छौं, प्रदेश गौरवको आयोजनाको क्षमता विस्तारमा सबैले सहयोग गर्ने अपेक्षा गरेका छौं’ हमालले भने ।
कार्यदललाई चैत्र ५ गतेसम्म रंगशालाको क्षमता थप गर्नुपर्ने लागतसहितको प्रतिवेदन पेस गर्नेछ । गत मंसिर २२ गते शिलान्यास गरिएको रंगशालाको कूल बजेट एक अर्ब ५८ करोड ४७ लाख ४७ हजार रूपैयाँ विनियोजन गरिएको छ । अहिले उक्त रंगशाला निर्माणको काम धमाधम भइरहेको छ । सँगसँगै क्षमता विस्तारका लागि पनि पहल भइरहेको छ ।
प्रकाशित मितिः १ चैत्र २०७८, मंगलवार ०५:०५
साझा बिसौनी ।