सुल्झिएन व्यापारीको विवाद

असन्तुष्ट व्यवसायीद्वारा निर्वाचन प्रक्रिया स्थगित गर्न माग, सदस्यता नवीकरण हुने स्थिति छैनः संघ

सुर्खेत: व्यवसायीहरूको छाता संस्था सुर्खेत उद्योग वाणिज्य संघमा विवाद बल्झिएको छ । सदस्यता नवीकरणलगायतका विषयमा केही समययता व्यवसायीहरू विभाजित छन् । उक्त असमझदारी हल गर्ने प्रयास गरेपनि सार्थक बन्न नसकेको हो । संघको नेतृत्वप्रति असन्तुष्ट व्यवसायीहरूले सोमवार पुनः कार्यालयमा तालाबन्दी गरेका छन् ।
सदस्यता विवाद सुल्झाउन आफूहरूसँग यसअघि गरिएका सहमति कार्यान्वयन नभएको भन्दै असन्तुष्ट समूह फेरि आन्दोलित भएका हुन् । पदाधिकारीहरू प्रतिबद्धताअनुसार अघि नबढेको असन्तुष्ट पक्षको आरोप छ । केही दिन पहिले दुई पक्षबीच सहमति भइ आन्दोलनका कार्यक्रम स्थगित गरिएका व्यवसायीले विवाद सुल्झाउनुको साटो नेतृत्वले बेवास्ता गरेको बताएका छन् ।

असन्तुष्ट व्यवसायीद्वारा निर्वाचन प्रक्रिया स्थगित गर्न माग

केही दिन पहिले विवाद चुलिँदै जाँदा संघको कार्यालय परिसरमा झडपको स्थिति बनेको थियो । सोही विवाद समाधानका लागि स्थानीय प्रशासनको रोहबरमा व्यवसायीहरू आपसी समझदारीमा अघि बढ्न तयार भएका थिए । फागुन २० गते सहायक प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बैठक बसी संघका वर्तमान र पूर्व अध्यक्षहरूको पाँच सदस्यीय विवाद समाधान समिति बनाइएको थियो । उक्त समिति बनेपछि असन्तुष्ट व्यवसायीले आन्दोलनका कार्यक्रम रोकेका थिए ।

व्यवसायी एकता र संस्थाको हितका लागि सदस्यता नवीकरणको माग राखिए पनि त्यसको सम्बोधन नगरी एकलौटी रूपमा अघि बढेपछि आफूहरू पुनः आन्दोलित हुन बाध्य भएको व्यवसायी पूर्णदेव अधिकारीले बताए । उनले व्यवसायीले राखेका जायज माग सम्बोधन हुने गरी छलफल थाल्नुपर्नेमा त्यसो हुन नसकेको जनाए । ‘बहुमतको आडमा संघका पदाधिकारीहरू तोकिएकै मितिमा अधिवेशन गर्नेगरी अघि बढिराख्नु भएको छ,’ उनी भन्छन्, ‘केही पदाधिकारीकै दम्भका कारण सदस्यता नवीकरणलगायतका समस्या समाधान गर्ने प्रयत्न निरर्थक बनेको छ ।’ सुर्खेत उद्योग वाणिज्य संघको आगामी नेतृत्व चयनका लागि चैत २६ मा अधिवेशन तोकिएको छ । सदस्यता नवीकरणको विषय सहमतिमा टुङ्गो लगाएमात्रै अधिवेशनको मिति तोकिनुपर्ने असन्तुष्ट व्यवसायीहरूको माग छ । आफूहरूले उठाएका सवालको बेवास्ता गर्दै तोकिएकै मितिमा अधिवेशन गर्नेगरी प्रक्रिया थालिएपछि आन्दोलनको विकल्प नभएको व्यवसायी अधिकारीले बताए । सहमति तथा समन्वयका आधारमा निर्वाचन प्रक्रियामा जानुपर्नेमा संघ व्यवसायीप्रति उत्तरदायी नदेखिएको उनी बताउँछन् । संघ एकपक्षीय रूपमा अघि बढ्न थालेकाले निर्वाचनसम्बन्धी सम्पूर्ण प्रक्रिया स्थगित गरी सहमति जुटाउन पहल गरिदिन असन्तुष्ट व्यवसायीले प्रमुख जिल्ला अधिकारीलाई गुहारेका छन् । असन्तुष्ट व्यवसायीहरूले सहमतिका आधारमा समस्या समाधान गर्नुपर्ने माग गर्दै आएका छन् भने पदाधिकारीहरूले विधानअनुसार नै संस्थालाई अघि बढाइएको जिकिर गरिरहेका छन् ।

सुर्खेत उद्योग वाणिज्य संघमा नेपाली कांग्रेस निकट व्यवसायीहरूका दुई समूह छन् । पार्टी गुटका कारण पदाधिकारीभित्रै फरक मत छ । दुई कित्तामा विभाजित व्यवसायीबीच आगामी अधिवेशनबारे विवाद उत्कर्षमा पुगेको हो । वरिष्ठ उपाध्यक्ष हर्शविक्रम खड्कालगायत कार्यसमितिका केही सदस्य र व्यवसायीहरू आन्दोलित बनेका छन् । असन्तुष्ट पक्षले धेरै व्यवसायीलाई सदस्यता बन्नबाट वञ्चित गरिएको आरोप लगाउँदै आएका छन् । व्यवसायीहरूले आफ्ना माग सम्बोधन नगरी एकाएक नयाँ कार्यसमिति चयनका लागि निर्वाचन घोषणा गरिएको भन्दै पहिलो पटक माघ २८ गते संघको कार्यालयमा तालाबन्दी गरेका थिए । व्यवसायीहरूले कोरोना महामारीका कारण व्यवसाय सञ्चालनमा समस्या भएको भन्दै दुई वर्षदेखि बाँकी रहेका फर्मलाई पनि नवीकरण गर्नुपर्ने बताएका छन् । जुन व्यवस्था संघको विधानमा छैन । दुई वर्षसम्म नवीकरण नगरेमा सदस्यता खारेज गर्नुपर्ने प्रावधान संघको विधानमा छ । असन्तुष्ट व्यवसायीहरू विशेष साधारणसभा गरेर भएपनि सदस्यता नवीकरण गर्नुपर्ने अडानमा छन् । माघ २८ गतेकै कार्यसमिति बैठकको बहुमतले व्यवसायीले सदस्यता नवीकरणका लागि उठाएका माग सम्बोधन नगर्ने निर्णय गरेको थियो । त्यसयता व्यवसायीमा झनै विवाद बढ्दै गएको हो ।

सदस्यता नवीकरण हुने स्थिति छैनः संघ

सुर्खेत उद्योग वाणिज्य संघका महासचिव लक्ष्मण कंडेल विधानविपरीत गएर सहमति गर्न नसकिने बताउँछन् । ‘लगातार दुई वर्षसम्म नवीकरण नभएका फर्म नवीकरण गर्ने व्यवस्था विधानमै छैन,’ उनले भने, ‘निर्वाचन प्रक्रिया अघि बढिसक्यो । विद्यानविपरीत जबरजस्ती राखिएका माग सम्बोधन गर्न सकिदैन ।’ नवीकरण नभएका व्यवसायले निर्वाचनमा भाग लिन नपाउने व्यवस्था रहेको भन्दै उनले अब निर्वाचनपछि मात्रै नवीकरण हुने जनाए । एक महिनाअघि मात्रै विधान संशोधन स्वीकृत भइ कार्यान्वयनमा लगिएकाले तत्काल विशेष अधिवेशन गर्ने अवस्थासमेत नरहेको महासचिव कंडेल बताउँछन् । हाल असन्तुष्ट व्यवसायीको नेतृत्व गरिरहेका संघका वरिष्ठ उपाध्यक्ष खड्का नै विधान संशोधन समितिको संयोजक थिए । ‘व्यवसायीहरू सबैको नवीकरण हुन नसकेको पक्का हो,’ कंडेलले भने, ‘तर, संस्था चलाउने विधानले भएकाले हामीले विधान मिचेर काम गर्न सकेनौं ।’ संघको विधानमा जे व्यवस्था भएपनि हाम्रा फर्म नवीकरण हुनुपर्छ भन्ने खालका अडानको औचित्य नहुने उनको भनाइ छ । विवाद सुल्झाउन समितिले प्रयास थालिरहेकै बेला निर्वाचनको प्रक्रिया अघि बढाइएको भन्दै असन्तुष्ट व्यवसायी पुनः तालाबन्दीमा उत्रिएका छन् । पूर्व अध्यक्षहरू सम्मिलित विवाद समाधान समितिले पनि विधान छलेर जान संघलाई दवाव दिन नसकेपछि असन्तुष्ट व्यवसायीका माग सम्बोधन हुन नसकेको कतिपय व्यवसायीहरू बताउछन् ।

प्रकाशित मितिः   १ चैत्र २०७८, मंगलवार ०५:०६