भेटिएनन् बेपत्ता बालबालिका

सुर्खेत: भेरी नदीमा बेपत्ता भएका तीन जना बालबालिका फेला पर्न सकेका छैनन् । शनिवार भेरीगंगा नगरपालिकामा पर्ने रामघाटस्थित नदीमा नुहाउने क्रममा तीन बालबालिका हराएका थिए । हराउनेहरूमा भेरीगंगा नगरपालिका–११ रामघाटका १० वर्षीया गंगा खड्का, आठ वर्षीया कृष्णा सिजाली र लेकवेसी नगरपालिका ५ खल्टाकुराका १० वर्षीय दिनेश बुढा छन् ।

तीन दिनदेखि लगातार खोजी भइरहेको छ । सशस्त्र प्रहरीको गोतोखोर टोलीले खोजी जारी राखेको छ । सोमवार बिहान साढे १० बजेबाट सशस्त्र प्रहरीको तालिम प्राप्त चार जना गोताखोर टोलीले नदीमा खोजविन गर्दा पनि बालबालिकाको कुनै पत्तो लाग्न सकेको छैन । नम्बर ३२ रक्तकालि गण बाङ्गेशीमल सुर्खेतबाट डिएसपी करण धामी र सशस्त्र प्रहरीको शम्शेरगञ्जबाट प्रहरी सहायक निरीक्षकसहितको चार जनाको टोलीले खोजी जारी राखेको ३२ नम्बर रक्तकाली गण बाङ्गेसिमल सुर्खेतका एसपी बिमल डाँगीले जानकारी दिए । ‘गोताखोरको टोलीले पुलदेखी तल ढुंगामा गएर खोजिरहेको छ, अहिलेसम्म कुनै पत्ता लागेको छैन’ उनले भने ।

प्रहरी, स्थानीयहरूले भेरी नदीको दुई तिरबाट हराईरहेका बालबालिकाहरूको शनिवारदेखि खोजी कार्य गरिरहे पनि नभेटिएपछि सशस्त्रको गोताखोर टोलीले खोज्न सुरु गरेको हो । नदीमा पौडिखेलिरहेका बालबालिकाहरू बगिरहेको स्थानीय रोजिता थापा र लक्ष्मी पज्भैयाले नदीमा बगेको देखेपछि आफन्त र प्रहरीलाई खबर गरेका थिए ।

प्रकाशित मितिः   १ चैत्र २०७८, मंगलवार ०५:०३