दुग्धजन्य उत्पादनको मूल्य बढ्यो

सुर्खेत: सुर्खेतमा दुग्धजन्य उत्पादनको मूल्य वृद्धि गरिएको छ । कर्णाली डेरी उद्योगी तथा व्यवसायी संघले दुधको मूल्य बढाएको हो । जिल्लाभर लागू हुनेगरी दुधको मूल्य प्रतिलिटरमा १० रूपैयाँले बढेको छ । यसअघि प्रतिलिटर ७० रूपैयाँमा बिक्री भइरहेको दुधको मूल्य अब भने ८० पुगेको छ । नेपाल सरकारको स्वामित्वमा रहेको दुग्ध विकास संस्थाले केही समय पहिले गरेको मूल्य वृद्धिलाई मध्यनजर गर्दै यहाँ पनि दुग्धजन्य वस्तुको मूल्य बढाइएको हो ।

फागुन २७ गते बसेको बैठकले दुग्धजन्य पदार्थको मूल्य बढाउने निर्णय गरेको कर्णाली डेरी उद्योगी तथा व्यवसायी संघका अध्यक्ष मोहनप्रसाद जैसीले बताए । उनका अनुसार दुधसँगै अन्य दुग्धजन्य उत्पादनको मूल्य पनि सोही अनुपातमा बढेको छ । दुधको गुणस्तर मापनको आधारमा किसानलाई भुक्तानी गरिने तथा दुधको परीक्षण किसानले आफै गर्न सक्नेलगायतका व्यवस्था गरिएको संघले जनाएको छ । दुधको गुणस्तर मापन गर्न अत्याधुनिक ल्याबको समेत व्यवस्था गरेको बताइएको छ ।

प्रकाशित मितिः   १ चैत्र २०७८, मंगलवार ०५:०१