एमसीसीले देशलाई नोक्सानः लिङ्देन

सुर्खेत: राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अमेरिकी सहयोग अनुदान मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)ले नेपाललाई नोक्सान पुर्‍याउने बताएका छन् । शनिवार वीरेन्द्रनगरमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले राष्ट्रहित विपरीतको सम्झौता भएको बताए ।

अध्यक्ष लिङ्देनले व्याख्यात्मक टिप्पणी लाज ढाग्ने टालो मात्रै भएको टिप्पणीसमेत गरे । गठबन्धन दलहरूले सरकारमा बसिराख्ने अस्त्रको रूपमा व्याख्यात्मक टिप्पणीको प्रयोग गरेको आरोप उनले लगाए । ‘देशका प्रमुख राजनीतिक दलहरूले वैदेशिक सम्बन्धलाई सत्ता आरोहरणको सिँढीको रूपमा जुन प्रयोग गर्ने चेष्टा गरे र सत्तामा बसिराखेकाहरूले सत्तामै बसिराख्ने लिसोको रूपमा प्रयोग गरेका छन्’, लिङ्देनले भने, ‘यस्तो आलोकाँचो व्यवहारले नेपाल शक्ति राष्ट्रहरूको रणनीतिक प्रतिस्पर्धास्थलमा परिणत भएको छ ।’ एमसीसी बारेको विवादलाई छिनोफानो नगर्दा विवाद र विभाजन जनताको तहसम्म पुगेको लिङ्देनको टिप्पणी छ ।

उनले एमसीसी माथिको व्याख्यात्मक टिप्पणीले कालान्तरमा देशलाई नोक्सानीतर्फ लैजाने उल्लेख गरे । पार्टी विभाजनको विषयमा भने लिङ्देनले राजनीतिकलाई पेसा व्यवसाय मान्नेहरू बाहिरिएको र पार्टीलाई देशको सर्वोत्तम माध्यम ठान्नेहरू राप्रपामा आउने टिप्पणी गरे । राप्रपाले चुनाव जितेका क्षेत्रमा जनताका आधारभूत आवश्यकताहरू पूरा गर्नमा कटिबद्ध रहेको लिङ्देनले बताए । संविधानको परिधिभित्र रहने राज संस्थाको मुद्दा लिएर जनता माझ जान लागेको लिङ्देनको भनाइ छ । लिङ्देनसहित सुर्खेत आएका केन्द्रीय नेताहरूले शनिवार वीरेन्द्रनगरमा आयोजित आमसभालाई समेत सम्बोधन गरेका थिए ।

प्रकाशित मितिः   २९ फाल्गुन २०७८, आईतवार ०५:०४