माओवादीको प्रदेश समितिलाई पूर्णता

सुर्खेत: नेकपा (माओवादी केन्द्र) को कर्णाली प्रदेश समितिले पूर्णता पाएको छ । प्रथम प्रदेश अधिवेशन भएको तीन महिनापछि शुक्रवार समितिलाई पूर्णता दिइएको हो । गत मंसिरमा भएको अधिवेशनबाट विमला केसीलाई अध्यक्षमा सर्वसम्मत चयन गरिए पनि अन्य पदाधिकारी छनोट हुन सकेको थिएन ।

समितिको दोस्रो बैठकबाट उपाध्यक्षमा सल्यानका कर्णबहादुर बुढाथोकी, जाजरकोटका ढकवीर राना र सुर्खेतका कृष्ण जिसी चयन भएका छन् । यस्तै सचिवमा कालीकोटका धनजित शाही, सहसचिवमा जुम्लाका वीरबहादुर कुँवर, हुम्लाका लालकेश जैसी र मुगुका बिर्खबहादुर थापा छन् भने कोषाध्यक्षमा डोल्पाका मालबहादुर रोकालाई चयन गरिएको छ ।
यसैबीच माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अप्ठ्यारो पर्दा देशलाई माओवादीले नै जोगाएको दाबी गरेका छन् । शुक्रवार वीरेन्द्रनगरमा आयोजित प्रशिक्षण कार्यक्रममा उनले बेला–बेला परिवर्तनका मुद्दा उल्टाउने र फेरि पुरानै ठाउँमा लिएर देशलाई डुबाउन खोज्नेविरुद्ध माओवादी सचेत भएको बताए ।

दाहालले एमसीसीको विषयमा माओवादीले देशलाई ठूलो दुर्घटनाबाट बचाएको बताए । एमसीसीका कारण आफ्नो पार्टीभित्र देखिएको समस्या समाधान भइसकेको उनको भनाइ थियो । उनले भने, ‘हामीले अन्ततः केन्द्रीय समितिबाट पार्टीलाई एकताबद्ध, एउटै लाइन, विचारका आधारमा निर्वाचन अभियानमा जाने र यो विषयमा भएका मतभेदलाई एउटा फोरममार्फत निश्कर्ष निकाल्ने भनेर केन्द्रीय समितिबाट सर्वसम्मत् निर्णय गरेपछि एमसीसीसम्बन्धी सम्पूर्ण विषयको समाधान भएको छ ।’

अहिलेको सत्ता गठबन्धन स्थानीय चुनावसम्मा जाने र सकेसम्म अझै परसम्म लैजाने योजनासमेत रहेको उनको भनाइ थियो । अध्यक्ष दाहालले माओवादी केन्द्र पार्टीले पार्टीलाई एकताबद्ध गर्दै निर्वाचन अभियानको कार्यक्रम तयार पारिएकाले हाल त्यसैको अभियानमा हिँडेको बताए ।

प्रकाशित मितिः   २८ फाल्गुन २०७८, शनिबार ०५:०२