कर्णाली उत्सव सुरु
सुर्खेत: कर्णाली उत्सवको तेस्रो संस्करण शुक्रवारदेखि वीरेन्द्रनगरमा सुरु भएको छ । ऋति फाउण्डेसनले आयोजना गरेको उत्सव तीन दिनसम्म चल्ने छ ।
सुर्खेतको पर्यटकीय स्थल बुलबुले उद्यानमा उत्सवको उद्घाटन गर्दै प्रदेशका सभामुख राजबहादुर शाहीले कर्णालीको विकास र समृद्धि हासिल गर्न उत्सवले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । प्रदेशमा बहस सिर्जना गरेको भन्दै आयोजकलाई धन्यवाद समेत दिए ।
कर्णालीलाई चिन्ने र चिनाउने उद्देश्यले फाउन्डेसनले विभिन्न संघसंस्थाको समन्वय तथा सहकार्यमा हरेक वर्ष कर्णालीका विविध विषयमा बहस गर्न उत्सवको आयोजना गर्दै आएको छ । उत्सवका संयोजक कमलराज लम्सालले कर्णालीको भाषा, साहित्य, समाज, रहनसहन, विकास, वातावरणलगायतका विविध विषयमा विमर्श गरिने जानकारी दिए । उनका अनुसार यस वर्ष १२ वटा सत्र सञ्चालन हुँदैछन् ।
उद्घाटन समारोहमा केवलप्रसाद भण्डारीले कर्णाली उत्सवको सुरुवातदेखि तेस्रो संस्करणसम्मको बारेमा जानकारी गराए भने नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ दिनेशराज पन्तले ‘खस भाषाको लहरो’ शीर्षकमा विद्वत प्रवचन दिएका थिए । पहिलो दिन शुक्रवार कलाकारहरू गंगा केसी, प्रेमदेव गिरी, नन्दकृष्ण जोशी, विजया शर्मासँग नवराज लम्सालले कला तथा संस्कृतिको विषयमा छलफल गरेका छन् । त्यसैगरी ‘बजार विकास, हजार निकास शीर्षकमा रेवती गुरुङ, बसन्त अधिकारी र हिमा उपाध्यायसँग सुरथ गिरीले छलफल गरे ।
प्रकाशित मितिः २८ फाल्गुन २०७८, शनिबार ०५:०१
साझा बिसौनी ।