जग्गा विवादमा अल्झियो चक्रपथ

सुर्खेत: वीरेन्द्रनगरमा निमार्णाधीन चक्रपथ (रिङ्गरोड) को काममा ढिलाइ भएको छ । झन्डै १६ वर्षअघि सुरु गरिएको चक्रपथ निर्माणको कामले अझै गति लिन नसकेको हो । वीरेन्द्रनगरको सुब्बाकुनादेखि घुस्रा हुँदै दक्षिण भागबाट बाङ्गेसिमल जोड्ने चक्रपथ निर्माणमा जग्गा विवादले बाधा पुगेको छ । २०६२ सालबाट काम सुरु गरिए पनि हालसम्म २२ किलोमिटर सडक मात्रै निर्माण कार्य सम्पन्न भएको छ । झन्डै २९ किलोमिटर लामो चक्रपथको ४० प्रतिशत खण्डको काम बाँकी नै छ । निर्माण भएको सडकमध्ये दुई किलोमिटर पनि कालोपत्रे भएको छैन । सडक निर्माणमा जग्गा विवादसँगै बारम्बार स्थानीयको अवरोध हुने गरेका छ । सडक खण्डमा संरक्षित वन क्षेत्रपर्ने तथा विभिन्न समयमा अदालतको आदेशका कारण पनि चक्रपथ निर्माण योजना पूरा हुन नसकेको हो ।

सडक खण्डको वडा नं. १, २, ८ र १२ मा वन र व्यक्तिगत जग्गाको विवाद कायमै छ । कतिपय स्थानमा स्थानीयले जग्गा छोड्न मानिरहेका छैनन् । झन्डै २९ किलोमिटर लामो चक्रपथमध्ये हालसम्म २२ किलोमिटर निर्माण भएको छ ।

खासगरी जग्गा विवादका कारण काममा ढिला हुँदै आएको वीरेन्द्रनगर नगरपालिकाका प्रमुुख देवकुमार सुुवेदीले बताए । उनका अनुसार आगामी असार मसान्तभित्र चक्रपथ निर्माणको काम सक्ने लक्ष्य लिइएको छ । निर्माणका क्रममा देखिएका विवाद सुल्झाउने प्रयास भइरहेको सुवेदीले जनाए । ‘वन क्षेत्रका कारण बढी विवाद आएको छ,’ उनले भने, ‘अवरोध हटाएर अघि बढ्न विभिन्न चरणमा छलफल भइरहेका छन् ।’ चक्रपथ खण्डको वडा नं. १, २, ८ र १२ मा वन र व्यक्तिगत जग्गाको विवाद कायमै छ । कतिपय स्थानमा सडकका लागि स्थानीयले आफ्नो जग्गा दिन मानिरहेका छैनन् । अन्य क्षेत्रभन्दा वडा नं. २ मा बढी विवाद देखिएको छ । त्यहाँ चार÷पाँच वटा स्थानमा जग्गा विवाद रहेको बताइएको छ । सडकको बीचमा पर्ने रूख कटानको अनुमति नदिइँदा पनि थप समस्या भइरहेको जनाइएको छ । नगरपालिकाका अनुसार व्यक्तिको जग्गा विवादका कारण चार वटा मुद्दा अहिले पनि अदालतमा छन् ।

चक्रपथ निर्माणको काम रूकुम–पश्चिमको चौरजहारीमा रहेको सडक डिभिजन कार्यालयले हेर्दै आएको छ । कार्यालयले निर्माणाधीन चक्रपथको ६० प्रतिशत काम सम्पन्न भएको जनाएको छ । विवाद नरहेका ठाउँमा धमाधम काम भइरहेको डिभिजन कार्यालयका इन्जिनियर सुुरेश बस्यालले बताउँछन् । ‘जग्गा र वनको विवादले ठाउँ–ठाउँमा काम रोकिएको छ,’ उनले भने, ‘जुुन गतिमा काम हुुनुपर्ने हो त्यसरी हुुन सकेको छैन ।’

चक्रपथ निर्माणको चार बर्से ठेक्का सम्झौताअनुसार २०७६ चैत समान्तसम्म काम सक्नुपर्नेमा पुनः म्याद थप गरिएको थियो । पछिल्लो सम्झौतामा २०७८ चैत मसान्तभित्र निर्माण कार्य सक्ने उल्लेख छ । निर्माण सम्झौतामा १५ मिटर चौडाईको सडक बनाउने भनिए पनि ११ मिटरमा मात्र ग्रावेल भइरहेको इन्जिनियर बस्याल बताउँछन् । पर्याप्त चौडाइको जग्गा उपलब्ध नहुँदा त्यसो गर्नुपरेको उनले जनाए । संघीय सरकारको बजेटबाट निर्माण थालिएको चक्रपथको काम अहिले प्रदेश सरकार मातहत ल्याइएको छ । बजेट र ठेक्का व्यवस्थापन संघीय सरकारले गर्छ भने निर्माणको काम प्रदेश सरकारमार्फत भइरहेको छ । हाल १३ करोड बजेटमा निर्माण सम्झौता भइ कामहरू भइरहेका छन् ।

स्थानीय र वन क्षेत्रको विवादले गर्दा काममा असहज र ढिला भइरहेको सडक डिभिजन कार्यालयले जनाएको छ । निर्माण व्यवसायी काम गर्न तयार भएपनि ठाउँ नै नहुुँदा केही समय खाली बस्नुपर्ने बाध्यता रहेको इन्जिनियर बस्याल बताउँछन् । ‘ढिलाइ हुनुको मुख्य कारण भनेकै बेला–बेलामा भइरहने जग्गा विवाद हो,’ उनले भने, ‘यसको समाधान भए काम तोकिएकै समयमा सम्पन्न गर्न सकिन्थ्यो ।’ चक्रपथ वीरेन्द्रनगर उपत्यकाका सबै भू–भागलाई एउटै सडकले जोड्ने उद्देश्यसहित निर्माण थालिएको हो । १६ वर्षअघि पहिलो पटक चक्रपथ निर्माणका लागि ४१ लाख बजेट विनियोजन गरिएको थियो ।

तीनवटै तहका सरकारको प्राथमिकतामा परेको चक्रपथ निर्माणले अब भने गति लिने नगर प्रमुख सुवेदी दाबी गर्छन् । ‘स्थानीय, प्रदेश र संघीय सरकारले पनि यसलाई प्राथमिकतामा राखेको छ, चक्रपथको काम द्रूत गतिमा अघि बढ्छ,’ उनले भने । सुवेदीका अनुसार विवाद रहेका स्थानमा सहमति जुटाउन स्थानीय र सरोकारवालासँग छलफल जारी छ । सकेसम्म विवाद सुल्झाएर सहमतिमै निर्माण कार्य अघि बढाइने उनले बताए । प्रदेश राजधानी भएसँगै पछिल्लो समय वीरेन्द्रनगरमा बसोबास गर्नेको संख्या ह्वातै बढेको छ । सोहीअनुसार राजधानीमा आवश्यक पूर्वाधारको विकास हुन सकेको छैन । साँघुरा र कच्ची सडक तथा यातायात सेवाको सर्वसुलभ पहुँच नहुँदा वीरेन्द्रनगरबासीले सास्ती खेप्नु परिरहेको छ । चक्रपथ निर्माण सम्पन्न भए यहाँको सडक पूर्वाधारमा उल्लेखनीय सुधार हुने अपेक्षा गरिएको छ । तर, निर्माणको चर्चामात्र नभइ काम नै थालिएको दशकौं बितिसक्दा पनि यो योजना अझै अधुरै छ ।

प्रकाशित मितिः   २६ फाल्गुन २०७८, बिहीबार ०५:०४