प्रविधिको उपयोग

प्रविधिको प्रयोगले मानव जीवनशैलीलाई सहज बनाइदिएको छ । शिक्षण सिकाइमा समेत उत्तिकै प्रभावकारी देखिएको छ । जसले गर्दा पछिल्लो समय प्रयोग पनि बढेको छ । यसैको एक उदाहरण हो, वीरेन्द्रनगरमा सञ्चालन गरिएको अनलाइन सिकाइ सहजीकरण कार्यक्रम । वीरेन्द्रनगर नगरपालिकाले अनलाइन सिकाइ सहजीकरण कार्यक्रम सञ्चालन गरेको हो । प्रविधिको प्रयोग गरेर विद्यार्थीलाई सिकाइ सहजीकरण गर्नु यसको उद्देश्य हो । वीरेन्द्रनगरमा सुरु गरिएको सिकाइ सहजीकरण केन्द्रबाट एकैसाथ १० वटा विद्यालयका विद्यार्थीले कक्षा लिइरहेका छन् । १० वटा सामुदायिक विद्यालयका कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूले अनलाइनको माध्यमबाट थप कक्षा लिइरहेका हुन् ।

कोरोना महामारीका कारण एसईई दिने विद्यार्थीको पढाइमा बाधा पुगेकाले प्रविधिको प्रयोगमार्फत शिक्षण गतिविधि सुरु गरिएको छ । सिकाइ केन्द्रबाट अंग्रेजी, गणित र विज्ञान विषयको कक्षा सञ्चालन हुँदै आएको छ । अंग्रेजी विषय बिहान ८ः३० देखि ९ः३० बजेसम्म शिक्षण हुन्छ । यस्तै, दिउँसो ३ः३० देखि ५ः३० सम्म बजेसम्म गणित र विज्ञान विषयको पढाइ भइरहेको छ । यो सिकाइले बाँकी रहेको कोर्षलाई पूरा गर्नेगरी विद्यार्थीलाई सहयोग पुग्ने अपेक्षा गरिएको छ । निकै चासोका साथ विद्यार्थीहरूले कक्षा लिइरहेका छन् । नबुझेको कुरा पालैपालो सोध्न सकिने र सम्बन्धित विषयको शिक्षक कक्षामै हुुने भएकाले पनि सहजीकरणमा कुनै समस्या छैन । अनलाइनबाट गरिने शिक्षणको विद्यालयमा रहेका शिक्षकले सहजीकरण गर्दै आएका छन् । भर्चूअल कक्षा सहजीकरणका लागि प्रत्येक विद्यालयलाई एउटा कम्प्युटर र स्मार्ट टिभी उपलब्ध गराइएको छ । विभिन्न महामारी तथा विपद्का बेला सबै विद्यालयमा अनलाइन कक्षा सञ्चालनमा समस्या हुुने गरेको विषयलाई मध्यनजर गरी सहजीकरण केन्द्र स्थापना गरिएको नगरपालिकाले जनाएको छ । केही विद्यालयमा विषयगत शिक्षकको समेत अभाव रहेकाले यसरी केन्द्रबाट शिक्षण गरिँदा विद्यार्थीलाई राहत पुग्ने अपेक्षा गरिएको छ ।

कोरोना महामारीका कारण विगत तीन वर्षयता शैक्षिक क्षेत्र सबैभन्दा बढी प्रभावित बनेको छ । कोरोना संक्रमणको जोखिमले भौतिक उपस्थितिमा पठनपाठन सम्भव नभएपछि लामो समय विद्यालय बन्द गरिएका थिए । सरकारले सो समयमा वैकल्पिक माध्यमबाट सिकाइलाई निरन्तरता दिन भनेपनि ती कार्यक्रम प्रभावकारी बन्न सकेका थिएनन् । अधिकांश विद्यालय र विद्यार्थीहरू इन्टरनेटको सहज पहुँचमा नहुँदा भर्चूअल कक्षामा सहभागिता न्यून रहने गरेको थियो । वीरेन्द्रनगर नगरपालिकाले वैकल्पिक सिकाइलाई व्यवस्थित बनाउन केन्द्र स्थापना गरी कक्षा सञ्चालन सुरु गरेको हो । विद्यालयमा विषय शिक्षकसँगै बसेर भर्चूअल रूपमा पढ्न पाउँदा घरमा इन्टरनेट सेवा उपलब्ध नहुने विद्यार्थीलाई सिकाइमा सहज बनाएको छ । यो कार्यक्रम अन्य क्षेत्रका लागि पनि अनुकरणीय हुनसक्नेछ ।

प्रकाशित मितिः   २५ फाल्गुन २०७८, बुधबार ०५:०४