एमाले दैलेखको अधिवेशन चैत पहिलो साता
सुर्खेत: नेकपा (एमाले) दैलेखको जिल्ला अधिवेशन चैत पहिलो साता हुने भएको छ । अधिवेशन चैत १ र २ गते गर्न लागिएको हो । यसअघि पुस २३ गते भएको अधिवेशनमा कार्यसमिति चयनमा विवाद भएको थियो । नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचनका क्रममा फर्जी मत भेटिएपछि मतगणना रोकिएको थियो । मंगलवार बसेको जिल्ला कमिटीको १८औं बैठकले पुस २३ गते भएका सबै प्रक्रिया खारेज गर्दै चैत १ र २ गते पुनः अधिवेशन गर्ने निर्णय गरेको एमाले दैलेखले जनाएको छ ।
यसअघिको अधिवेशनमा अध्यक्ष पदका लागि रविन्द्रराज शर्मा र सूर्यबहादुर शाही उम्मेदवार बनेका थिए । नेतृत्व चयनका लागि भएको मतदानपछि गणना गर्दा मतदाताभन्दा धेरै मत खसेको पाइएको थियो । उक्त निर्वाचनमा सात सय २१ मतदातामध्ये सात सय १७ जना मतदानमा सहभागी भएकोमा मतपेटिकामा भने सात सय ४८ मत भेटिएका थिए । सोही अधिवेशनमा उपाध्यक्षसहित जिल्लाका पाँच वटा पालिकाका भूगोलतर्फका सदस्यहरू, दलित र महिलातर्फका सदस्यहरू निर्विरोध चयन भएका थिए ।
प्रकाशित मितिः २५ फाल्गुन २०७८, बुधबार ०५:०२
साझा बिसौनी ।