विभेद अन्त्यका लागि प्रतिबद्धता

सुर्खेत: सिम्ता गाउँपालिकाका सरोकारवालाहरूले लैंगिक विभेद र बाल विवाह अन्त्य गर्ने प्रतिबद्धता जनाएका छन् । अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा मंगलवार गाउँपालिकामा आयोजित लैंगिक विभेद र बालविवाह बिवायक बहस कार्यक्रममा सरोकारवालाहरूले यस्तो प्रतिबद्धता जनाएका हुन् । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष कविन्द्रकुमार केसीले पालिकाले सामाजिक विभेद र कुरीति हटाउन नीति तथा कार्यक्रम बनाएको भए पनि एक्लो प्रयासबाट परिवर्तन सम्भव नहुने बताए । सबै प्रतिबद्ध भए मात्र विभेद अन्त्य हुने उनको भनाइ छ ।

कार्यक्रममा बोल्दै उपाध्यक्ष चन्द्रकला शाहीले गाउँपालिकाले बनाएका नीति तथा कार्यक्रमको सकारात्मक प्रभावले विगतमा भन्दा बालविवाह तथा लैंगिक विभेद न्यूनीकरणका सवालमा सुधार भएको बताइन् । त्यस्तै, अधिकारकर्मी सुमिता प्रधानले लैंगिक विभेद कम गर्न छोरीहरूलाई शिक्षित एवम् सक्षम बनाउनुपर्ने आंैल्याइन् । इन्सेक कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले कर्णालीमा लैंगिक हिंसा व्याप्त रहेको उल्लेख गर्दै त्यसको अन्त्यका लागि स्थानीय सरकारले पनि आवश्यक नीति र कार्यक्रम बनाइ कार्यान्वयनमा जोड दिनुपर्ने सुझाए । उक्त कार्यक्रम इन्सेक, केड, म्याग, सोलिडारिटी सेण्टर, सुशासन प्रवद्र्धनका लागि युवा र स्याक नेपालको सहकार्यमा सिम्ता गाउँपालिकाले आयोजना गरेको थियो । कार्यक्रममा गैरसरकारी संस्था महासंघका केन्द्रीय सदस्य घनश्या केसी, केडका कार्यक्रम व्यवस्थापक सुमेश भट्टराई, सञ्चारिका समूहका कर्णाली प्रदेश अध्यक्ष सीता वलीलगायत स्थानीय सरोकारवालाहरूको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः   २५ फाल्गुन २०७८, बुधबार ०५:०१