बुवाको स्मृतिमा छात्रवृत्ति अक्षयकोष
सुर्खेत- विपन्न विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न अक्षयकोष स्थापना गरिएको छ । वीरेन्द्रनगर–७ (हाल अष्ट्रेलिया निवासी) चन्द्रप्रकाश ढकालले बुवा रविदत्त ढकालको स्मृतिमा दुई लाख ५० हजारको अक्षयकोष स्थापना गरेका हुन् । उक्त रकमबाट वार्षिक रूपमा प्राप्त हुने ब्याजबाट वीरेन्द्रनगरको इत्रामस्थित श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालयमा अध्ययनरत दुई जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने बताइएको छ ।
आर्थिक विपन्नताका कारण शिक्षाबाट बञ्चित हुनु नपरोस् भन्ने उद्देश्यले बुवाको सम्झनामा अक्षयकोष खोलिएको समाजसेवी ढकालले बताए । रविदत्त छात्रवृत्ति अक्षयकोषमार्फत आर्थिक अवस्था कमजोर भएका परिवारका कक्षा ९ देखि १२ सम्म पढ्ने एक छात्र र एक छात्रालाई हरेक वर्ष रकम प्रदान गरिने छ । विद्यालयका प्रधानाध्यापक यामलाल घिमिरेले त्यस्ता विद्यार्थीको छनोट गरी छात्रवृत्ति वितरण गरिने जनाए । ‘विद्यालयलाई दाताबाट प्राप्त रकम बैंकमा मुद्धती खाता खोलि जम्मा गरिसकिएको छ,’ उनले भने, ‘अक्षयकोष सञ्चालन कार्यविधिअनुसार प्रत्येक वर्ष दुई जना विद्यार्थीले छात्रवृत्ति पाउने छन् ।’ अक्षय कोषको अध्यक्ष विद्यालय व्यवस्थापन समितिको अध्यक्ष नै रहने व्यवस्था गरिएको छ भने छात्रवृत्तिका लागि विद्यार्थी छनोट गर्न अक्षयकोष संस्थापकसहितको समिति बनाइने छ ।
प्रकाशित मितिः २३ फाल्गुन २०७८, सोमबार १८:३२
साझा बिसौनी ।