चिङ्गाड अन्तरपालिका भलिबल प्रतियोगिताको फाइनलमा

सुर्खेत: चिङ्गाड गाउँपालिका अन्तरपालिकास्तरीय भलिबल प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ । सोमवार भएको सेमिफाइनलमा पञ्चपुरीलाई २–१ को सेटले हराउँदै चिङ्गाड उपाधि नजिक पुगेको हो ।

पहिलो सेट २९–२७ ले जितेको पञ्चपुरीले पछिल्ला दुवै सेट गुमाउन पुग्यो । अर्कोतर्फ पहिलो सेट गुमाएको चिङ्गाडले भने त्यसपछि दुई वटा सेट २५–१९ र २५–२० ले आफ्नो पक्षमा पारेर उपाधि दाबेदार बन्न सफल भएको छ । समूह चरणमा पञ्चपुरीले दुई खेल जित्दै सेमिफाईनल प्रवेश गरेको थियो भने चिङ्गाडले एकमा जित र एकमा हार भोगेको थियो ।

सोमवार नै भएको अर्को खेलमा सिम्ता गाउँपालिका र लेकवेशी नगरपालिका सेमिफाईनलमा प्रवेश गरेका छन् । मंगलवार बिहान ८ बजे समुह ‘ए’ को विजेता सिम्ता र ‘बी’को उपबिजेता लेकवेशीबीच फाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुँदैछ । विजेता टिमले उपाधिका लागि चिङ्गाडसँग खेल्नेछ ।

फाइनल खेल पनि मंगलवार नै हुने जनाइएको छ । वीरेन्द्रनगरमा जारी प्रतियोगितमा सिम्ता लगातार जित हात पार्ने एकमात्र टोलीको रूपमा सेमिफाइनलमा पुगेको हो । वीरेन्द्रनगर युवा क्लबको आयोजनाम भएको प्रतियोगितामा सुर्खेतका नौ वटै पालिकाको सहभागिता रहेको थियो । अन्य पाँच पालिकाका भने समुह चरणबाटै बाहिरिएका छन् । प्रतियोगिताको विजेताले एक लाख हात पार्ने छ भने उपविजेताले ५० हजार र तेस्रो हुनेले २५ हजार प्राप्त गर्ने छन् ।

प्रकाशित मितिः   २३ फाल्गुन २०७८, सोमबार १९:०६