बालविवाह बढ्यो

सुर्खेत: कर्णालीमा बालविवाह गर्नेको संख्या बढ्दै गएको पाइएको छ । वीरेन्द्रनगरमा आयोजित प्रदेशमा बालविवाहको अवस्था विश्लेषण कार्यक्रममा उक्त तथ्यांक सार्वजनिक गरिएको हो । महिला तथा बालबालिकाका क्षेत्रमा कार्यरत आवाज संस्था सुर्खेतले गरेको अध्ययन प्रस्तुतीकरणमा बालविवाहको दर विगतका वर्षभन्दा बढेको देखिएको हो । आवाजले सार्वजनिक गरेको तथ्यांकअनुसार हरेक जिल्लामा विगतका वर्षहरूभन्दा बालविवाहको दर बढेको पाइएको छ । २०६८ को जनजणनाअनुसार कर्णालीमा झन्डै ५२ प्रतिशत बालविवाह हुने गरेको तथ्यांक थियो । अध्ययन प्रतिवेदनको जिल्लागत तथ्यांकअनुसार अहिले त्यो संख्या झनै बढेर गएको देखिएको हो । प्रदेशको समग्र बालविवाहको प्रतिशत भने अध्ययन प्रतिवेदनमा समेटिएको छैन । जिल्लागत विवरणअनुसार कर्णालीमा अझै पनि ५० प्रतिशतभन्दा बढीले उमेर नपुग्दै बिहे गर्ने गरेको आकलन आवाजको छ ।

उक्त विवरणले प्रदेशमा सबैभन्दा बढी बालविवाह रूकुम–पश्चिममा हुने गरेको देखाएको छ । त्यहाँ ७१.०६ प्रतिशत बालविवाह हुने गरेको हो । त्यसैगरी, दैलेखमा ७०.२०, सल्यानमा ६९.६७, जुम्लामा ६९, सुर्खेत ६६.८८, जाजरकोटमा ६५.३२, कालीकोटमा ५८.९७, मुगुमा ५७.०१, हुम्लामा ५१.९१ र डोल्पामा ४९.५२ प्रतिशत बालविवाह हुने गरेको छ । अध्ययन प्रतिवेदनअनुसार बालविवाह गर्नेमा १६ देखि १९ वर्षसम्मका धेरै छन् । प्रदेशमा बालविवाहको तथ्यांक भयावह भएको सरोकारवालाहरूले बताएका छन् ।

बालविवाहको अवस्था विश्लेषण कार्यक्रममा बोल्दै सामाजिक विकासमन्त्री यज्ञबहादुर बुुढाक्षेत्रीले न्यूनीकरणका प्रयासहरू भइरहेपनि अपेक्षित उपलब्धी हासिल हुन नसकेको जनाए । ‘बालविवाहको तथ्यांक डरलाग्दो छ,’ उनले भने, ‘यसको अन्त्यका लागि विभिन्न कार्यक्रम अघि बढाइएका छन् ।’ प्रदेश सरकारको ‘बैंक खाता छोरीको, सुरक्षा जीवनभरिको’ कार्यक्रम बालविवाह न्यूनीकरण र शिक्षामा छोरीको पहुँच बढाउन सञ्चालन गरिरहेको उनले बताए । आवाजले प्रदेश सरकारलाई सुझाव दिने उद्देश्यले बालविवाहको अवस्था अध्ययन गरेको जनाएको छ ।

प्रकाशित मितिः   २१ फाल्गुन २०७८, शनिबार ०५:०३