मानव अधिकार रक्षकको प्रादेशिक सम्मेलन

सुर्खेत: मानव अधिकार रक्षकहरूको कर्णाली प्रदेशस्तरीय सम्मेलन सुरु भएको छ । ‘जीवन, मर्यादा, समानता र स्वतन्त्रताको अधिकारः दिगो शान्ति र सम्मृद्धिको आधार’ नारासहित राष्ट्रिय मानव अधिकार आयोगले वीरेन्द्रनगरमा दुईदिने सम्मेलनको आयोजना गरेको हो । शुक्रवारदेखि सुरु भएको सम्मेलनको उद्घाटन कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले गरेका हुन् । सम्मेलनलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले मानव अधिकार रक्षकले सत्यको पक्षमा आवाज उठाउनुपर्ने बताए । ‘रक्षकहरू नै पक्ष र विपक्षमा विभाजित भएको देखिने गरेको छ, उनले भने, ‘तपाईंहरूले सत्यको पक्षमा वकालत र पीडितको न्यायका लागि पहल गर्नुपर्छ ।’ मानव अधिकारको बहुआयामिक सवाललाई रक्षकहरूले आत्मसाथ गर्न अत्यावश्यक रहेको मुख्यमन्त्री शाहीको भनाइ थियो ।

सम्मेलन उद्घाटनमा उच्च अदालत सुर्खेतका कामु मुख्य न्यायाधीश शेषराज सिवाकोटीले विगतकोभन्दा पछिल्ला वर्षहरूमा मानव अधिकारमैत्री वातावरण बन्दै गएको बताए । समाजमा अझै पनि मानव अधिकार हनन्का घटना भइरहेको भन्दै उनले रक्षकहरूले पैरवीसँगै जनचेतनामा पनि जोड दिनुपर्ने बताए ।

त्यस्तै, राष्ट्रिय मानव अधिकार आयोगका सहसचिव नवराज सापकोटाले रक्षकहरूको सम्मेलनले कर्णालीको मानव अधिकारको समग्र अवस्थाबारे जानकारी हुने र त्यसका आधारमा आगामी रणनीति बनाउन सहज हुने विश्वास व्यक्त गरे । कर्णालीमा मानव अधिकार रक्षकहरूको अवस्था र चुनौतीका विषयमा सुझाव संकलन गर्न सम्मेलनको आयोजना गरिएको राष्ट्रिय मानवअधिकार आयोगको जुम्ला कार्यालयका प्रमुख बुद्धनारायण साहनीले बताए । उनका अनुसार सम्मेलनमा उठेका सवाललाई समेटेर आयोगले सरकारलाई आवश्यक सुझाव दिनेछ । रक्षकहरूको भूमिकालाई प्रभावकारी बनाउने सन्र्दभका छलफल तथा नागरिक समाजका संस्थासँग राष्ट्रिय मानव अधिकार आयोगको सहकार्यलाई थप बलियो बनाउनेबारे सम्मेलनमा खाका तयार हुनेछ । आज (शनिवार) सम्म सञ्चालन हुने सम्मेलनमा कर्णालीका दश वटै जिल्लाका मानवअधिकार रक्षकको सहभागिता रहेको छ ।

प्रकाशित मितिः   २१ फाल्गुन २०७८, शनिबार ०५:०२