विपन्नका घर बनाइदिने निर्णय

सुर्खेत: कर्णाली प्रदेश सरकारले प्रदेशका विपन्न नागरिकको घर बनाइदिने कार्यक्रम ल्याएको छ । प्रदेश सरकारको बुधवार बसेको मन्त्रिपरिषद् बैठकले विपन्न नागरिकको घर निर्माणसम्बन्धी कार्यविधि स्वीकृत गरेको हो । त्यसका लागि सरकारले पाँच करोड बजेट छुट्याएको छ ।

पाँच करोडमा करिब एक सय घर निर्माण गर्ने निर्णय भएको कर्णाली सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टले पत्रकार सम्मेलनमार्फत जानकारी दिए । हिमाली जिल्लामा पाँच लाख र अन्य जिल्लाका हकमा चार लाखको लागतमा खर्च गरिने कार्यविधि रहेको मन्त्री विष्टले जानकारी दिए ।

यसअघि सञ्चालनमा रहेको जनता आवास कार्यक्रममा दलित समुदायलाई प्राथमिकता दिइएकोमा विपन्न आवास कार्यक्रममा सबै विपन्न नागरिकको आवस निर्माण गरिनेछ । स्थानीय सरकारको सिफारिसका आधारमा पारदर्शी प्रक्रिया अपनाइ लक्षित परिवार छनोट गरिने मन्त्री बिष्टको भनाइ छ ।

मन्त्रिपरिषद् बैठकले बेरुजु बढेपछि प्रदेश बेरुजु व्यवस्थापन सूचना प्रणाली कार्यान्वयनमा ल्याउने पनि निर्णय गरिएको छ । अबदेखि सातामा एक दिन बुधवारमात्रै र आवश्यकता अनुसार मन्त्रिपरिषद् बैठक बस्ने साथै २४ घण्टाभित्र निर्णय सार्वजनिक गर्ने निर्णय गरेको छ ।

प्रकाशित मितिः   १३ फाल्गुन २०७८, शुक्रबार ०५:०२