व्याप्त बालविवाह

कर्णालीमा बालविवाह गर्ने प्रचलन अझै व्याप्त छ । तथ्यांकअनुसार उच्च दरमा बालविवाह हुने प्रदेशमध्ये एक हो, कर्णाली । प्रदेशका सबैजसो जिल्लामा अहिले पनि उमेर नपुग्दै बिहे गर्नेको संख्या अत्यधिक छ । सरकारी तथ्यांकअनुसार यहाँ अझै ५० प्रतिशतभन्दा बढीले उमेर नपुग्दै बिहे गर्छन् । जब कि २० वर्षको नभइ बिहे गर्न कानुनले समेत बर्जित गरेको छ । नेपालको मुलुकी ऐनमा विवाहको लागि कानुनी उमेर २० वर्ष तोकिएको छ । उमेर नपुगेर गरिने विवाह बालअधिकार हनन्को विषयको हो । जसलाई संविधानले नै दण्डनीय अपराधको रूपमा स्वीकार गरेको छ ।

बालविवाह उच्च हुनुमा सामाजिक एवम् सांस्कृतिक मान्यता, लैंगिक विभेद, गरिबी, अशिक्षा, असुरक्षा जस्ता कारणहरू रहेको बताइन्छ । कारण जुनसुकै भए पनि बालविवाह गलत हो । यसले बालबालिकाहरूलाई आधारभूत अधिकारबाट वञ्चित मात्र गराउँदैन आफ्नो भविष्यको छनौट गर्ने अधिकार तथा सो सम्बन्धमा निर्णय लिने प्रक्रियामा सहभागी हुने अवसरबाट पनि वञ्चित हुन्छन् । बालविवाहको कारण वैवाहिक जीवन दिगो नहुने, परिपक्व नभइ सन्तान जन्माउँदा स्वास्थ्यसम्बन्धी विभिन्न समस्याहरू देखिने, लैङ्गिक हिंसा, यौनजन्य हिंसा, बालश्रम, बेचबिखन जस्ता थप हिंसाहरूले बालिका र महिलाहरू थप पीडित हुन पुग्दछन् । कालान्तरमा समाज विकास प्रक्रियामा महिलाहरूको भूमिका र सहभागितालाई न्यून बनाइ सभ्य, सु–संस्कृत एवम् समतामूलक समाज निर्माण गर्न बालविवाह बाधक तत्व बन्न पुग्दछ । यसकारण पनि बालविवाहलाई अन्त्य गर्नुको विकल्प छैन ।

उमेर नपुग्दै बिहे गर्ने प्रचलन रोक्न कर्णालीमा दर्जनौं सरकारी तथा गैरसरकारी संस्थाहरू क्रियाशील छन् । त्यस्ता अभियानलाई वर्षाैंदेखि निरन्तरता दिइँदै आएको छ । विद्यालयदेखि अभिभावकसम्मलाई लक्षित गरी चेतनामूलक कार्यक्रम भइरहे पनि बालविवाहमा भने कमी आएको पाइँदैन । बालविवाहलाई न्यूनीकरण गर्न पछिल्लो समय स्थानीय सरकारको सक्रियता पनि बढेको छ । गाउँ–गाउँमा जनचेतनामूलकसँगै बालविवाहविरुद्धका दबाबमूलक कार्यक्रम सञ्चालन भइरहेका छन् । बाल बिहेको अवस्था विकराल देखिएपछि स्थानीय तहहरू कडा रूपमा उत्रिएका हुन् । कतिपय ठाउँमा बालविवाह गर्ने र गराउने दुवै पक्षलाई सार्वजनिक सेवाबाट वञ्चित गर्नेसम्मका नीति लिइएको छ । त्यस्तै, बालविवाह निषेधित वडा र टोल घोषणा गरिएका छन् । सामाजिक रूपमै बहिष्कार गरिएपनि २० वर्ष नपुग्दै बिहे गर्ने प्रचलन घटेको भने छैन । उमेर नपुगी गरिएका बिहेका कारण व्यक्तिगत वृद्धि विकासमा मात्र नभइ पारिवारिक र सामाजिक रूपमा पनि असर पर्ने गरेको छ ।

प्रकाशित मितिः   १३ फाल्गुन २०७८, शुक्रबार ०५:०३