एमालेको निर्वाचन केन्द्रित प्रशिक्षण

सुर्खेत: नेकपा (एमाले) वीरेन्द्रनगर नगर कमिटीको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम बिहीवार सम्पन्न भएको छ । नगर कमिटी अध्यक्ष निलकण्ठ खनालको अध्यक्षता तथा एमाले स्थायी कमिटी सदस्य एवम् कर्णाली इन्चार्ज यामलाल कडेलको प्रमुख आतिथ्यतामा भेला गरिएको हो । आन्तरिक भेलालाई सम्बोधन गर्दै स्थायी कमिटी सदस्य कंडेलले स्थानीय तहको निर्वाचन केन्द्रित भएर एमालेको पक्षमा जनमत बनाउन निर्देशन गरेको एमाले सुर्खेतका प्रचार तथा प्रकाशन विभाग प्रमुख गंगाराम तिमिल्सेनाले जानकारी दिए ।

सो भेला तथा प्रशिक्षणमा एमाले केन्द्रीय सदस्य एवम् सुर्खेत जिल्ला सह–इन्चार्ज मोहनमाया ढकाल, केन्द्रीय सल्लाहकार परिषद् सदस्य बालाराम शर्मा र जिल्ला अध्यक्ष अमृतबहादुर बिसीले प्रशिक्षणमूलक मन्तव्य दिएका थिए । झन्डै दुई सय अगुवा कार्यकर्ताको सहभागिता रहेको भेलामा आउँदो स्थानीय तहको निर्वाचनमा एमालेलाई बिजयी बनाउने संकल्प र प्रतिबद्धतासहित कार्यक्रम सम्पन्न भएको नगर कमिटीले जनाएको छ । नगर कमिटीले यसअघि १६ वटै वडामा बैठक तथा अगुवा कार्यकर्ता भेलाको आयोजना गरिसकेको छ ।

यसैबीच, एमालेले आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर यही फागुन १४ र १५ गते वीरेन्द्रनगरमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम गर्ने भएको छ । केन्द्रीय स्कुल विभाग, स्थानीय तह विभाग र निर्वाचन विभागको आयोजनामा कर्णालीमा अगुवा कार्यकर्ता प्रशिक्षण तथा अनुशिक्षण कार्यक्रम गर्न लागिएको हो ।

उक्त प्रशिक्षण कार्यक्रममा एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’, उपमहासचिव प्रदिप ज्ञवाली, स्थायी कमिटी सदस्य एवम् कर्णाली इन्चार्ज यामलाल कंडेल, स्थायी कमिटी सदस्य अग्नी खरेल र पोलिट्ब्युरो सदस्य देवेन्द्र दाहालले प्रशिक्षण दिने बताइएको छ । प्रदेशस्तरीय अनुशिक्षणमा कर्णालीबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरू, प्रदेश र जिल्लाका पदाधिकारी, प्रतिनिधि तथा प्रदेशसभा सदस्यको सहभागिता रहने छ । त्यस्तै, प्रदेश र जिल्ला कमिटीका स्कुल विभाग प्रमुख र स्थानीय तह विभागका प्रमुखहरू पनि उपस्थिति रहने एमालेले जनाएको छ । एमाले कर्णाली प्रदेश कमिटीका अनुसार दुई दिने प्रशिक्षणमा गाउँ र नगर कमिटीका अध्यक्ष, स्थानीय तहका प्रमुख तथा उपप्रमुख गरी दुई सय हाराहारी प्रतिनिधि सहभागी बन्नेछन् ।

प्रकाशित मितिः   १३ फाल्गुन २०७८, शुक्रबार ०५:०१