मृतकका परिवारलाई तीन लाख सहयोग
दक्षिण कोरियाको ख्वाङ्जुस्थित एक कम्पनीका काम गर्ने क्रममा मृत्यु भएका साटाखानीका उत्तम पंगालीको परिवारलाई सुर्खेत–कोरिया सम्पर्क समितिले तीन लाख पाँच हजार रूपैयाँ सहयोग प्रदान गरेको छ । दक्षिण कोरियामा कार्यरत सुर्खेतीसहित विभिन्न जिल्लाका नेपालीहरूबाट संकलन भएको रकम शुक्रवार पंगालीका बुबा टिकाराम पंगालीलाई हस्तान्तरण गरिएको हो ।
सुर्खेत–कोरिया सम्पर्क समितिका संस्थापक अध्यक्ष लक्ष्मीप्रसाद ढकाल, पूर्व अध्यक्ष विकास मल्ल, सल्लाहकार गणेश अधिकारीलगायतको उपस्थितिमा सुर्खेत–कोरिया सम्पर्क समितिले पठाएको रकम परिवारलाई हस्तान्तरण गरिएको हो । ‘सुर्खेत–कोरिया सम्पर्क समितिको पहलमा कोरियामा श्रम गरिरहेका सुर्खेतीसहित विभिन्न जिल्लाका साथीहरूले दिनु भएको रकम हामीले घरमै पुगेर हस्तान्तरण गरेका हौं’ संस्थापक अध्यक्ष लक्ष्मीप्रसाद ढकालले भने, ‘आगामी दिनहरूमा पनि सक्दो सहयोग गर्नेछौं ।’
समितिका सल्लाहकार गणेश अधिकारीले अर्काको देशमा काम गर्दा आइपर्ने समस्याको संस्थागत समाधानका लागि समिति गठन गरिएको बताए । ‘कोरियामा काम गर्ने क्रममा पनि विभिन्न समस्याहरू आउँछन्, ती समस्याहरूको संस्थागत रूपमा समाधान गर्नका लागि समिति गठन गरेका हौं’ उनले भने, ‘त्यहीँ समितिकै पहलमा त्यहाँ कार्यरत नेपालीहरूबाट संकलन भएको रकम हस्तान्तरण गरेका हौं ।’ अर्का पूर्व अध्यक्ष विकास मल्लले श्रम गर्न गएका युवाको विदेशमा निधन हुनु दुःखद् भएको भन्दै समितिको तर्फबाट आगामी दिनहरूमा पनि सक्दो सहयोग गरिने बताए । उनले कम्पनी इन्स्योरेन्स र अरु आइपर्ने समस्याको लागि समिति सहयोग गर्न सधैं तयार रहेको बताए ।
सुर्खेत–कोरिया सम्पर्क समितिका अध्यक्ष लक्ष्मीनारायण बस्नेतले सुर्खेतीहरूका लागि यस्तो पहिलो घटना भएको बताए । ‘मर्दापर्दा यहा“ (दक्षिण कोरिया) मा रहेका हामी नेपालीहरू एक हुन्छौं भन्ने यो एक उदाहरण पनि हो’ अध्यक्ष बस्नेतले टेलिफोनमार्फत् भने, ‘आगामी दिनहरूमा पनि यस्तै सहयोगको अपेक्षा गरेका छौं ।’ दक्षिण कोरियामा सुर्खेतबाट मात्रै विभिन्न कम्पनीमा तीन सय भन्दाबढी कार्यरत छन् । रकम हस्तान्तरण कार्यक्रममा सुर्खेत–कोरिया मञ्चका पूर्व कोषाध्यक्ष लोकबहादुर कालुङ, सदस्यहरू प्रेम देवकोटा, केशव शर्मा, अशोक चौधरी, तुलसकुमार गुरुङ, जनक थापा, ललित देवकोटा, धर्मेन्द्र थापालगायतको उपस्थिति रहेको थियो । पंगालीको गत मंसिर २८ गते कम्पनीमा काम गर्ने क्रममा मृत्यु भएको थियो । उनी गत असारमा कामका लागि दक्षिण कोरिया गएका थिए ।
प्रकाशित मितिः ९ पुष २०७३, शनिबार १४:०९
साझा बिसौनी ।