प्रदेश ६ मा स्वास्थ्य : पूर्वाधारमा ‘अब्बल’ बन्दै
कुनैबेला बिरामी हुँदा सिटामोल नै नपाउने र महामारीले बारम्बार थला पर्दै आएका प्रदेश नम्बर ६ का जिल्लामा स्वास्थ्य सेवा अब भने अब्बल बन्दै गएको छ । प्रादेशिक संरचना अनुसार स्वास्थ्यका भौतिक पूर्वाधार र आवश्यक संरचना निर्माणको योजना अगाडि सारिएको छ । यस्तै प्रदेशको समग्र स्वास्थ्य सेवालाई नेतृत्व गर्नेगरी वीरेन्द्रनगरमा रहेको मध्यपश्चिम क्षेत्रीय अस्पताललाई नै प्रदेशको केन्द्रीय अस्पतालको रूपमा विकास गर्ने योजना सुरु भएको छ ।
यो प्रदेशको कर्णालीमा अहिले पनि भरपर्दो स्वास्थ्य सेवा उपलब्ध छैन । यस्तै जाजरकोट र दैलेखमा प्रायः हरेक वर्ष झाडापखालाले महामारीको रूप लिने गरेको छ । तर, स्वास्थ्य सेवाको प्रवाहमा कमजोर मानिएको प्रदेश ६ मा अब भने स्वास्थ्य सेवा अब्बल बन्ने निश्चित छ । भौतिक पूर्वाधार, दक्ष जनशक्ति र संरचनाको हिसाबले पनि यो प्रदेशको स्वास्थ्य सेवा विस्तार हुने संकेतहरू देखा परेका छन् । सरकारले यो वर्षको बजेट भाषणमार्फत् प्रदेश ६ स्तरीय मेडिकल कलेज स्थापनाको घोषणा गरिसकेको छ । अहिले सुर्खेतमा मेडिकल कलेज स्थापनाका लागि आवश्यक प्रक्रिया पनि चलिरहेको छ ।
अर्कोतर्फ मध्यपश्चिम विश्वविद्यालयको मातहतमा रहने गरी सुर्खेतमै मेडिकल कलेज स्थापनाका लागि चीनले सहयोगको घोषणा गरिसकेको छ । यस अर्थमा पनि यो प्रदेशमा दुई वटा मेडिकल कलेज स्थापना हुने देखिन्छ । ‘मेडिकल कलेज स्थापना सुनिश्चित भयो, यसले समग्र प्रदेशकै स्वास्थ्य सेवामा कायापलट गर्नेछ’ सरकारद्वारा सुर्खेतमा मेडिकल कलेज स्थापनार्थ गठित प्रारम्भिक समितिका संयोजक जीतबहादुर रानाले भने, ‘मेडिकल कलेजको स्थापनाले दक्ष स्वास्थ्यकर्मी उत्पादन हुनेछन्, जनताले पनि सुलभ र भरपर्दो स्वास्थ्य सेवा पाउनेछन् ।’ यस्तै वीरेन्द्रनगरमा रहेको मध्यपश्चिम क्षेत्रीय अस्पताललाई नै प्रदेशको केन्द्रीय अस्पतालको रूपमा विकास गर्ने अभ्यास थालिएको छ । त्यसका लागि यो अस्पतालमा अहिले तीन सय ५० शैयाको सुविधा विस्तारको प्रक्रिया अगाडि बढेको छ । अस्पताल विकास समितिका सदस्य पूर्णप्रसाद पौडेल भन्छन्, ‘हामीले क्षेत्रीय अस्पताललाई अब प्रदेशकै केन्द्रीय अस्पताल बनाउने तयारी थालेका छौं, जसको लागि भौतिक संरचना निर्माणको प्रक्रिया सुरु भएको छ ।’
पछिल्लो समय क्षेत्रीय अस्पतालले पनि आफ्नो सेवालाई विस्तार गर्न थालेको छ । बाहिरी जिल्लाबाट आएका बिरामीको उपचार र शल्यक्रियासमेत हुन थालेको छ । यस्तै आवश्यक दक्ष जनशक्तिको दरबन्दी र प्रदेशको केन्द्रीय अस्पतालको रूपमा विकास गर्नेगरी केन्द्रमा प्रस्ताव पठाइएको पौडेलले बताए । यो हिसाबले पनि यो प्रदेश अब स्वास्थ्य सेवा प्रवाहमा अब्बल हुने अपेक्षा गरिएको छ । अर्कोतर्फ कर्णालीको जुम्लामा पनि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत कर्णाली प्राविधिक शिक्षालय रहेको छ । यसले पनि प्रदेशको स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन मद्दत गर्ने अपेक्षा गरिएको छ । जुम्लामा रहेको कर्णाली प्राविधिक शिक्षालय, सुर्खेतमा रहेको मध्यपश्चिम क्षेत्रीय अस्पताल र सुर्खेतमा स्थापनाको तयारी रहेको मेडिकल कलेजकै जगमा अब यो प्रदेशको समग्र स्वास्थ्य सेवा प्रभावकारी र भरपर्दो हुने विश्वास सर्वसाधारणले गरेका छन् । साथै अब स्थापना हुने मेडिकल कलेज पनि क्षेत्रीय अस्पताललाई आधार बनाएर स्थापना गर्नुपर्ने सुझाव यहाँका नागरिकहरूको छ ।
यस्तै सुर्खेतमा स्थापना गर्ने भनिएको मेडिकल कलेज हालको क्षेत्रीय अस्पताललाई आधार बनाएर स्थापना गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । यो अस्पताललाई आधार बनाएर कलेज स्थापना भएमा राज्यको लगानी कम लाग्ने र विद्यार्थीलाई अभ्यास गर्न पनि सहज हुने उनीहरूको भनाइ छ । क्षेत्रीय अस्पतालमा जग्गा र भौतिक संरचना भएकाले पनि कलेज यसैलाई आधार बनाएर स्थापना गर्दा राज्यको आर्थिक भार कम पर्ने र समयमै स्थापना गर्न सहज हुने उनीहरूको दाबी छ ।
प्रकाशित मितिः ९ पुष २०७३, शनिबार १४:११
साझा बिसौनी ।