त्यो प्रेम पत्र, जसले जोड्यो दुई मुटु
कसले निभाइदेला तपाईंको मनको आगो,
यदि मनमा नै जलाइ राखे,
कसले बुझाइदेला तपाईंको मनको भाषा,
यदि मनमा नै कैदी बनाइ राखे ।
यी साहेरीका पंक्ति हुन्, टेकेन्द्र विश्वकर्माको पहिलो प्रेमपत्रमा शान्तिले पठाएको जवाफ । यही पत्रले उनीहरूलाई एकअर्काबीच जोड्न सफल भयो ।
दुवैले एक अर्कालाई मन पराएको थिए, मनमनै । एकअर्कालाई प्रेम गर्दथे, मनमनै । मन पराएको कुरा प्रत्यक्ष व्यक्त गर्न भने दुवैले सकिरहेका थिएनन् । जसको माध्यम बन्यो, चिठ्ठी । पहिला टेकेन्द्र विश्वकर्माले पत्र पठाए । त्यसको जवाफमा शान्तिले मनभित्रको कुरा मुखले नबोले कस्ले थाहा पाउँछ र ? भन्दै पत्र लेखिन् । टेकेन्द्रले पहिला पठाएको चिठ्ठी शान्तिले आफ्नो भाउजुलाई सोधेर मात्र लिएकी थिइन् । शान्तिले पनि टेकेन्द्रलाई मन पराउथिन । तर, कसरी बोल्ने लाज लाग्थ्यो उनलाई । टेकेन्द्रले चिठ्ठी पठाएपछि शान्तिले यो कुरा आफूमा मात्र सीमित नराखेर घरमा पनि भनिन् । अन्ततः उनै टेकेन्द्र र शान्ती एकै रथका दुई पांग्रा भए, जीवन साथी बने ।
…
पिता सहवीर विश्वकर्मा र माता जलधरी विश्वकर्माको कोखबाट २०३८ सालमा डाँडापराजुल दैलेखमा जन्मिएका टेकेन्द्रको बाल्यकाल सुखद सँगै बित्यो । साथीभाई सँगै खेल्ने, पढ्ने गर्दैमा उनको बाल्यकाल बित्यो । टेकेन्द्र बाल्यकालमा अलि बढी नै चकचके स्वभावका थिए । यतिसम्म चकचक गर्थे की हटारु गएका मान्छेहरूलाई माथिबाट ढुङ्गा हानेर भाग्ने गर्थे । कक्षा पाँचसम्म डाँडापराजुलमा नै पढेका टेकन्द्रले एसएलसी पास भने अवलपराजुलबाट गरे । एसएलसी पास गरे पछि उनी पढाइकै शिलशिलामा सुर्खेत आए । सुर्खेत शिक्षा क्यापसमा उनले ब्यार्चुलर सकेर अहिले डिग्री पढ्दैछन् । उनले पत्रकारिता भने हिमाल एफएममा दलित आवाज कार्यक्रमबाट सुरु गरेका
थिए । २०६४ सालसम्म हिमाल एफएममा काम गरेका टेकेन्द्र हिमाल एफएम बन्द भएपछि बुलबले एफएममा दुई वर्ष काम गरे । अहिले प्रदेश एफएममा आवद्ध छन् ।
उनी पढाइको शिलशिलामा सुर्खेत बसेका थिए । उनी कोठाभाडामा बस्ने घर नजिकै शान्तिको घर थियो । टेकेन्द्र सुर्खेत आएको दुई वर्षपछि उनले शान्तिलाई देखे । उनले शान्तिलाई देख्ने बित्तिकै मनपराइ सकेका थिए । उनी त्यतिकै बस्न सकेनन् । अनि प्रेम पत्र कोरे । उनले प्रेम पत्र आफै लेखेनन् । रंगमञ्च पत्रिकाबाट साभार गरेर आफ्नो साथी देवबहादुर ढकाललाई दिन पठाए ।
शान्तिले पनि प्रेमपत्र भाउजुको आग्रहमा स्वीकार गरिन् । त्यस प्रेम पत्रको उत्तर शान्तिले साहेरी पठाइन् । टेकेन्द्रले त्यो साहेरी पढेपछि थाहा पाए की शान्तिले पनि आफूलाई मन पराउने रहेछिन् । पहिलो चिठ्ठी पठाएको दुई महिनामा नै उनीहरूले विवाह गरे । २०५७ सालमा शान्तिको माइतीघरबाट सबैको सहमतिमा विवाह गरे । गाउँले अगाडि भागी विवाह जस्तो देखिए पनि उनीहरू घरपरिवारको
सहमतिमा नै विवाह गरेका थिए । विवाह गरेर टेकेन्द्रले शान्तिलाई डाँडापराजुल घरमा लिएर गए ।
शान्ति त्यो भन्दा अघि दैलेख कहिल्यै गएकी थिइनन् । उनलाई दैलेख पहिलो पटक जाँदा डाँडाकाँडा, पहाड, खोला सबै देख्दा अचम्म लागेको थियो । विवाह गरेर माइतीघर छोडेर गएकी शान्तिलाई ती डाँडाकाँडा, पहाड र खोला निकै सुनसान अनि नरमाइलो लागिरहेको थियो । माइती घरको सम्झना पनि निकै आएको थियो । उनले भनिन्, ‘जन्मघर छोडेर जाँदै थिएँ कहिल्यै नदेखेको ठाउँ, पहाड, खोला माइतीको खुबै याद आएको थियो ।’
विवाहपछि सबै छोरीहरूको लागि माइती घर बिरानो हुन्छ, अनि पराइ घर आफ्नो हुन्छ । शान्तिलाई सुरु–सुरुमा त सबै पराइ जस्तै लाग्ने गथ्र्यो । नचिनेको ठाउँ, नयाँ परिवार, नाता नयाँ सबै नौलो कुरा थियो उनका लागि । टेकेन्द्रले शान्तिलाई घरमा छोडेर पढ्न सुर्खेत आए । त्यसपछि शान्तिलाई झन नरमाइलो लाग्यो । तर, विस्तारै सबैको माया ममता शान्तिले पाइन् । उनलाई काम गर्न सक्दिन भनेर गाह्रो काम कसैले गर्न लगाएनन् । सबैको माया ममताले गर्दा माइतीमा छोरी घरमा बुहारी हुनुको फरक अनुभव उनले गरिनन् ।
टेकेन्द्र र शान्तिको विवाह पछिको दिन संघर्षमा बित्यो । शान्ति पनि सुर्खेत आए पछि दुवै जना मिलेर बाटोमा सानो घुम्ती थापेर व्यापार सुरु गरे । त्यतिबेला व्यापार सुरु गर्दा उनीहरूसँग शान्तिको आमाले दिएको पाँच हजार मात्र थियो । त्यही पाँच हजार र शान्तिको मामाले दिएको घुम्तीबाट उनीहरूले तरकारीको व्यापार सुरु गरे । २०६० सालमा संकटकालको समयमा उनीहरूको घुम्ती हटाइ दिएपछि उनीहरूले त्यही व्यापारबाट जम्मा गरेको ४० हजारले आधा कठ्ठा जग्गा किनेर एक कोठाको घर बनाएर र आफ्नै घरमा व्यापार सुरु गरे ।
शान्तिले घरको व्यवहार र व्यापार सम्मालिन् भने टेकेन्द्र अर्काको सुनचाँदी पसलमा म्यानेजरको रूपमा काम गर्थे । चार वर्षसम्म अर्काेको पसलमा काम गरेका टेकेन्द्रले चिया बेचे पनि साहुजी आफै बन्नुपर्छ भन्ने सोचले २०६५ सालमा आफ्नै टेकेन्द्र सुनचाँदी पसल खोले । उनले सुनचाँदी पसल खोल्दा ८० हजारबाट सुरु गरेका थिए ।
…
पिता मानबहादुर सुनार र माता विष्णु सुनारको कोखबाट २०३७ सालमा नेपालगन्जमा जन्मिएकी शान्तिको बाल्यकाल सुखद्सँगै बित्यो । लजाउने, धेरै नबोल्ने स्वभावकी शान्ति आठ भाइबहिनी मध्ये जेठी छोरी हुन् । शान्तिले कक्षा पाँच सम्म बालमन्दिर स्कुलमा पढिन् । कक्षा नौ सम्म अमरज्योति माविमा पढिन् ।
संघर्ष गरेर सफलतामा पुगेका यो जोडी अहिले आ–आफ्नै छुट्टाछुट्टै व्यापार सञ्चालन गरेका छन् । उनीहरू जे काम गर्दा पनि सल्लाह गरेर मात्र गर्ने गर्छन् । यस्तो गर्दा सम्बन्धमा खटपट आउँदैन । यो जोडी काममा नै धेरै व्यस्त हुने भएकाले सँगै घुम्न भने गएका छैनन् । तर, एकअर्काेको जन्मदिन आउँदा भने गिफ्ट आदानप्रदान हुनेगर्छ ।
एकअर्काेको प्रशंशा भने खुलेरै गर्छन् । टेकेन्द्रलाई शान्तिको आफूलाई हरेक कुरामा विश्वास गर्ने बानी मनपर्छ । त्यस्तै शान्तिलाई टेकेन्द्रको आफूले गरेका हरेक काम कुरा जानकारी दिने बानी मनपर्ने गर्छ । शान्तिलाई टेकेन्द्रको कहिले काहीं घरमा ढिला आउने बानी मन पर्दैन ।
एकअर्काे बीचमा विश्वास र समझदारी भए मात्र दाम्पत्य सम्बन्धलाई दिगो बनाउन सकिने उनीहरूको भनाइ छ । जबसम्म एकअर्काे बीचमा समझदारी र विश्वास कायम हुँदैन तबसम्म सम्बन्ध राम्रो नहुने उनीहरूको भनाइ छ । उनीहरूको अनुसार जीवन भनेको संघर्ष, भोगाइ र कर्म हो । जीवनमा अनेक दुःख, बाधा अवरोधहरू आइपर्छन् । ती दुःख, बाधा, अवरोधहरूलाई सहजताका साथ समाधान गर्ने सक्नु नै जीवन हो । जीवनमा दुःख नगर्ने व्यक्ति सफलतामा नपुग्ने उनीहरूको भनाइ छ ।
उनीहरूका अनुसार जीवनसाथी भनेको हरेक सुख दुःखमा साथ दिने, जीवनको अन्त्यसम्म साथ दिने साथी हो । जीवनको हरेक दुखसुखमा अनि जीवनको अन्त्यसम्म साथ दिन्छ उ नै जीवनसाथी हो । जीवनसाथी त जीवनको अन्त्यसम्म पनि साथ दिन्छन् । छोरा–छोरी सबै भए पनि सबै आ–आफ्नै जीवनसाथीकै साथमा रमाउँछन् । अन्त्यसम्म साथ दिने त जीवन साथी नै हो । प्रेम र विवाह एकअर्काेका परिपूरक हुन् । प्रेम विवाहको पहिलो खुट्किलो हो । विवाह प्रेमको अन्तिम चरण हो । तर, विवाहपछि पनि विवाहमा प्रेम हुनु आवश्यक हुन्छ । अरुलाई गरिने प्रेम र जीवनसाथीलाई गरिने प्रेममा फरक रहेको उनीहरू बताउँछन् ।
उनीहरू नवदम्पत्ती जोडीहरूलाई पहिला एकअर्काेको बारेमा राम्रोसँग बुझेर जानेर मात्र विवाह गर्न आग्रह गर्छन् । पहिला एकअर्काेलाई राम्रोसँग नबुझ्ने र विवाहपछि अरुले केही कुरा सुनाइ दिँदा सम्बन्ध नै बिग्रनेस्थिति आउने भएकाले पहिला एकअर्काेको बानी व्यवहार, परिवारको पृष्ठभूमि सबैको बारेमा बुझ्न जरुरी छ ।
प्रस्तुती : गीता थापा
साझा बिसौनी ।