८० मेगावाट बिजुली खरिद सम्झौता, फेब्रुअरीमा १६० मेगावाट आयात गरिने

 नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नयाँ दिल्ली पुगेर ८० मेगावाट विजुली खरिद सम्झौतामा हस्ताक्षर गरेका छन् ।

विद्युत खरीद सम्झौता (पीपीए)मा बुधबार हस्ताक्षर गरेर घिसिङ बिहीबार काठमाडौं फर्किएका हुन् ।

सम्झौताअनुसार मुजफ्फरपुर-ढल्केबर प्रसारण लाइनमार्फत् नेपालले थप ८० मेगावाट विजुली प्राप्त गर्ने छ ।

यसबारे नयाँदिल्लीमा बुधबार नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र भारतको एनभीभीएन विद्युत विकास निगमका प्रमुख कार्यकारी अधिकृत अरुणकुमार गर्गवीच हस्ताक्षर भएको हो ।

सम्झौता अनुसार ढल्केबरबाट नेपालले हाल ८० मेगावाट पाउने छ भने फेब्रुअरीदेखि १६० मेगावाट बिजुली नेपालले खरिद गर्नेछ । नेपालमा विद्युत दिन सहज गराउने उद्देश्यले भारतले मुजफ्फरपुरमा १ सय एमबीएको ट्रान्सफर्मर थपेको छ ।

नेपालले भारतसँग गरेको विद्युत खरीद सम्झौता पीपीएको म्याद सकिन लागेकाले त्यसको म्याद थप गरिएको जनाइएको छ ।

प्रकाशित मितिः   ८ पुष २०७३, शुक्रबार २२:४१