विद्युतीकरणमा उपलब्धी

कर्णाली प्रदेश विद्युतीकरणमा निकै पछि परेको क्षेत्र हो । अहिले पनि प्रदेशका सबै जिल्लामा विद्युतको राष्ट्रिय प्रसारण लाइन विस्तार भएको छैन । धेरै नागरिकले बिजुलीको उपभोग गर्न पाएका छैनन् । विद्युत विस्तार नहुँदा अन्य विकासका पूर्वाधार निर्माण र सञ्चालनमा पनि पछि पर्नुपरेको विडम्बनापूर्ण अवस्था छ । कतिसम्म भने राष्ट्रिय प्रसारण लाइन विस्तार भएका क्षेत्रमा पनि पर्याप्त छैन । प्रदेश राजधानी सुर्खेतमै अहिलेसम्म ३३ केभी क्षमतामै निर्भर हुनुपरिरहेको छ ।

विद्युत उत्पादनका दृष्टिले कर्णाली सबैभन्दा सम्भावनायुक्त प्रदेश हो । तर यही भुगोल विद्युतको उज्यालोबाट वञ्चित हुँदै आएको छ । यद्यपि पछिल्लो केही वर्षयता भने विद्युतीकरणमा अगाडि बढ्न थालेको देखिन्छ । विशेष गरेर स्थानीय सरकारले विद्युतीकरण योजनालाई प्राथमिकतामा राखेपछि ग्रामीण बस्ती उज्यालिन थालेका छन् । संघीय र प्रदेश सरकारले थालेका विद्युतीकरणका थुप्रै योजना अलपत्र छन् । तर, विद्युतीकरणमा स्थानीय तहका कार्यक्रम भने प्रभावकारी देखिएका छन् । पालिकाहरूले छोटो अवधिमै विद्युतीकरणका योजनामा उल्लेखनीय प्रगति गरेका हुन् । उदाहरणका लागि सुर्खेतको सिम्ला गाउँपालिकालाई हेर्न सकिन्छ । चार वर्षअघिसम्म सिम्ता गाउँपालिकामा ६ सयभन्दा पनि कम घरधुरी विद्युतको पहुँचमा थिए । ९६ प्रतिशत नागरिकले उज्यालोका लागि दियालो बाल्थे । आर्थिक अवस्था राम्रो भएका केही परिवारका घरमा सोलार जोडिएका थिए । २०७४ मा स्थानीय सरकार गठन भएसँगै ‘सिम्ता उज्यालो कार्यक्रम’ सुरु गरियो । पालिकाले नीति–कार्यक्रम र बजेटमा प्राथमिकता दियो । यसै अभियानले यतिबेला सिम्ताका अधिकांश भू–भाग अध्यारोमुक्त भएका छन् । पालिकाका विकट बस्तीमा बिजुली बलेको छ । सुर्खेतमा मात्रै होइन दैलेखको भगवतिमाइ, भैरवी र डुङ्गेश्वर गाउँपालिकाले सुरु गरेको उज्यालो कार्यक्रम पनि निकै प्रभावकारी बनेको छ । स्थानीय सरकार गठन हुनुअघि यहाँका बस्ती पनि अन्धकारमा थिए । वडामा विद्युतको राष्ट्रिय प्रसारण लाइन पुगेको थिएन । केही घरधुरीले सोलार प्रयोग गर्थे, अधिकांशलाई दियाँलो बाल्नुको विकल्प थिएन । अहिले विद्युत पुगेको छ । यी त उदाहरण हुन्, प्रदेशका अन्य धेरै स्थानीय सरकारले विद्युतिकरणलाई प्राथमिकताका साथ कार्यान्वयन गरेका छन् ।

ग्रामिण विद्युतीकरणले बस्तिलाई उज्यालो तथा नागरिकको जीवनशैलीलाई सहज बनाउने मात्रै होइन विकासका अन्य पूर्वाधार निर्माणमा पनि उत्तिकै महङ्खवपूर्ण भूमिका निर्वाह गर्दछ । यसका साथै व्यापार–व्यवसाय र औद्योगिक विकासमा टेवा पु¥याउँछ । त्यसैले स्थानीय सरकारको पहलमा सञ्चालन गरिएका विद्युतीकरण कार्यक्रम प्रशंसनीय उपलब्धी हुन् ।

प्रकाशित मितिः   १२ फाल्गुन २०७८, बिहीबार ०५:०३