बालविवाह अझै व्याप्त
सुर्खेत: उमेर नपुग्दै बिहे गर्ने प्रचलन रोक्न कर्णालीमा दर्जनौं सरकारी तथा गैरसरकारी संस्थाहरू क्रियाशील छन् । त्यस्ता अभियानलाई वर्षाैंदेखि निरन्तरता दिइँदै आएको छ । विद्यालयदेखि अभिभावकसम्मलाई लक्षित गरी चेतनामूलक कार्यक्रम भइरहे पनि बालविवाहमा भने कमी आएको पाइँदैन । प्रदेशका सबैजसो जिल्लामा अहिले पनि उमेर नपुग्दै बिहे गर्नेको संख्या अत्यधिक छ । सरकारी तथ्याङ्कअनुसार यहाँ अझै ५० प्रतिशतभन्दा बढीले उमेर नपुग्दै बिहे गर्छन् । जब कि २० वर्षको नभइ बिहे गर्न कानुनले समेत बर्जित गरेको छ ।
बालविवाहलाई न्यूनीकरण गर्न पछिल्लो समय स्थानीय सरकारको सक्रियता पनि बढेको छ । गाउँ–गाउँमा जनचेतनामूलकसँगै बालविवाहविरुद्धका दबाबमूलक कार्यक्रम सञ्चालन भइरहेका छन् । बाल बिहेको अवस्था विकराल देखिएपछि स्थानीय तहहरू कडा रूपमा उत्रिएका हुन् । कतिपय ठाउँमा बालविवाह गर्ने र गराउने दुवै पक्षलाई सार्वजनिक सेवाबाट वञ्चित गर्नेसम्मका नीति लिइएको छ । त्यस्तै, बालविवाह निषेधित वडा र टोल घोषणा गरिएका छन् । सामाजिक रूपमै बहिष्कार गरिएपनि २० वर्ष नपुग्दै बिहे गर्ने प्रचलन घटेको भने छैन ।
प्रदेशमा अधिक बालबिवाह हुने जिल्लामध्ये एक हो, दैलेख । यहाँ चालुु आर्थिक वर्षको यो अवधिसम्म प्रहरीमा बालविवाहसम्बन्धी तीन वटा उजुरी दर्ता भएका छन् । बालखैमा बिहे गर्ने प्रचलन ब्यापक भएपनि त्यस्ता उजुरी प्रहरी र अदालतसम्म भने कमै आउँछन् । पछिल्लो तथ्याङ्कअनुसार दैलेखमा ७१ प्रतिशत बालविवाह हुने गरेको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी भुवनेश्वरप्रसाद साहले बालविवाह रोकथाममा प्रहरी सक्रिय रूपमा लागिरहेको जनाए । ‘बालक्लव, किशोरकिशोरी तथा विद्यालयहरूमा विभिन्न जनचेतनामूलक कार्यक्रम गरिरहेका छौं,’ उनले भने, ‘प्रहरीले बालविवाहले भविष्यमा पर्न सक्ने असरका बारेमा अभिभावकलाई समेत सचेत गराउँदै आएको छ ।’
उमेर नपुगी गरिएका बिहेका कारण व्यक्तिगत वृद्धि विकासमा मात्र नभइ पारिवारिक र सामाजिक रूपमा पनि असर पर्ने गरेको छ । दैलेखमा बालविवाह गर्नेमा बालकभन्दा बालिकाहरू बढी छन् । जिल्लामा बालविवाहविरुद्धका अभियानमा सक्रिय रमा श्रेष्ठले विभिन्न हेल्प लाइन, टोल फ्रि नम्बर, बालक्लव, महिला समूह र किशोरीहरूमार्फत घटना जानकारीमा आउने गरेको बताइन् । यसरी उमेर नहुँदै विवाह गर्नेहरूलाई दुवैका अभिभावकको रोहबरमा सम्झाइबुझाइ गरी जिम्मा लगाउने गरिएको छ । समाजमा हुने अनेक किसिमका हिंसाजन्य घटनाको प्रमुख कारकमध्ये बालविवाह पनि रहेको उनको अनुभव छ ।
त्यस्तै, कालीकोट पनि अधिक बालविवाह हुने जिल्लामा पर्छ । कालीकोटमा थुप्रै गैरसरकारी संस्था, प्रहरी र अधिकांश स्थानीय तह बालविवाह न्यूनीकरणका प्रयासमा लागेका छन् । तर, उमेर नपुग्दै बिहे गर्नेको संख्या घट्नुको साटो बढ्दो छ । उक्त जिल्लामा ५५ प्रतिशत बढीले बालविवाह गर्ने गरेको सरकारी तथ्याङ्क रहेको छ । सूचना तथा प्रविधिको विकाससँगै केही वर्षयता उमेर नपुग्दै विवाह गर्ने घटनाक्रम स्वयम् बालबालिकाबाटै बढी भइरहेका छन् । धेरैजसो बालबालिकाले अभिभावकको मञ्जुरीविना भागेर बिहे गर्ने गरेका हुन् । मागिभन्दा भागि बिहे गरेका घटना अधिक रहेको बालविवाह न्यूनीकरणका क्षेत्रमा कार्यरत सामाजिक कार्यकर्ताहरू बताउँछन् ।
बालविवाहको अवस्था केलाउँदा ९० प्रतिशतभन्दा बढी बालबालिका आफ्नै इच्छाले भागेर बिहे गरिरहेका छन् । गरिबी, अशिक्षा, र अभिभावकको दबाबले पनि बालविवाह हुने गरेको पाइएको छ । तर, त्यस्तो संख्या भने निकै न्यून छ । बालविवाह न्यूनीकरणका लागि निरन्तर अभियान सञ्चालन भइरहेका ठाउँकै अवस्था नसुध्रिनु चिन्ताको विषय भएको अभियानकर्ताहरूले बताएका छन् । महिला तथा बालबालिकाका क्षेत्रमा काम गर्दै आएको सुर्खेतस्थित आवाज संस्थाले सञ्चालन गरेको बाल हेल्प लाइनमा बर्सेनि ठूलो संख्यामा बालविवाह पीडितहरू आश्रय लिन आउँछन् । परिवारको अवरोधकाबीच भागेर विवाह गरेका र पछि अलपत्र परेका तथा दबाबमा बिहे गरिदिन लागेकाहरूलाई आवाजले उद्वार गर्दै आएको छ । सुर्खेतमा समेत बालविवाहको अवस्था भयावह छ । यहाँ अहिले पनि झन्डै ६० प्रतिशत बालविवाह हुने गरेको विभिन्न अध्ययनहरूले देखाएका छन् । प्रदेश प्रहरी कार्यालयका अनुसार सुर्खेतमा अघिल्लो आर्थिक वर्ष २०७७/०७८ मा बालविवाहका आठ वटा मुुद्दा दर्ता भएका थिए । चालुु आर्थिक वर्षको यो अवधिसम्म भने बालविवाहका घटना दर्ता भएका छैनन् ।
बालविवाह उच्च हुनुमा चेतनाको कमी, गरिबी, सामाजिक एवम् सांस्कृतिक मान्यता र लैङ्गिक विभेदजस्ता कारणहरू रहेको बताउने गरिएको छ । बालविवाहका घटना गाउँघरमै मिलाउने प्रचलनका कारण पनि यसको न्यूनीकरणमा चुनौति भइरहेको जानकारहरू बताउँछन् । सल्यानका ग्रामीण क्षेत्रमा अहिले पनि सानै उमेरमा विवाह गर्ने प्रचलन छ । कर्णालीका अन्य जिल्लाको तुलनामा बालविवाहका उजुरीको संख्या पनि यहाँ धेरै छ । जिल्लामा आर्थिक वर्ष २०७६÷०७७ र २०७७÷०७८ मा पाँच÷पाँच वटा बालविवाहका उजुरी दर्ता भएका थिए । चालुु आर्थिक वर्षको यो अवधिसम्म एउटा उजुरी आएको प्रहरीले जनाएको छ । यसैगरी, रूकुुम–पश्चिममा ७१ प्रतिशत, डोल्पामा ५० प्रतिशत, जुम्लामा ७० प्रतिशत, जाजरकोटमा ६६ प्रतिशत, मुुगुुमा ५७ प्रतिशत र हुम्लामा ५२ प्रतिशत बालविवाह हुने गरेको सरकारी तथ्याङ्क छ । बालविवाहविरुद्धको जनचेतना वृद्धि भएर यसका सकारात्मक प्रभाव देखिनुपर्नेमा स्वरूप र कारणमा परिर्वतन आए पनि संख्यामा भने उल्लेख्नीय कमी नआएको बताइएको छ ।
प्रकाशित मितिः १२ फाल्गुन २०७८, बिहीबार ०५:०२
साझा बिसौनी ।