चार हजारले लिए पुनः श्रम स्वीकृति

पछिल्लो समय अनलाइनमाध्यमबाट श्रम स्वीकृति सेवा दिन थालिएपछि कार्यालयमै आएर सेवा लिनेको संख्या घटेको छ ।

सुर्खेत: कर्णाली प्रदेशबाट तीन वर्षको अवधिमा चार हजार ६ सय ५८ जनाले श्रम स्वीकृति लिएका छन् । यो संख्या अनलाइनबाहेक कार्यालयमै उपस्थित भएर पुनः श्रम स्वीकृति लिनेहरूको हो । वि.सं. २०७५ माघदेखि श्रम तथा रोजगार कार्यालय स्थापना गरी सुुर्खेतबाटै श्रम स्वीकृतिको सेवा दिइँदै आएको छ । कार्यालयका अनुसार सुरुको आर्थिक वर्ष २०७५/०७६ मा नौ सय २६ जनाले यहाँबाट वैदेशिक रोजगारीका लागि स्वीकृति लिएका थिए । रोजगारीका लागि तेस्रो मुलुक जानेमा महिलाभन्दा पुरुषहरूको संख्या अधिक छ । उक्त वर्ष नौ सय १९ पुुरुष र सात जना मात्र महिलाले श्रम स्वीकृति लिएको तथ्याङ्क छ ।

त्यस्तै, पछिल्लो आर्थिक वर्ष २०७६/०७७ मा एक हजार नौ सय ९० पुुरुष र ३६ महिला गरी दुुई हजार २६ जनाले श्रम स्वीकृति लिएका थिए । आर्थिक वर्ष २०७७/०७८ मा भने श्रम स्वीकृति लिनेको संख्या घटेको थियो । सो वर्ष कर्णालीका ६ सय ७५ जनाले मात्र वैदेशिक रोजगारीमा जान स्वीकृति लिएका हुन् । त्यसमध्ये ६ सय ६७ पुुरुष र आठ जना महिला थिए । चालुु आर्थिक वर्षको पुस मसान्तसम्म एक हजार १३ जनाले श्रम स्वीकृति लिएको कार्यालयका सूचना अधिकारी निर्मला रेग्मीले बताइन् । उनका अनुसार हालसम्म प्रदेशबाट ७७ जना महिलाले मात्रै वैदेशिक रोजगारीका लागि दोस्रो पटक श्रम स्वीकृति लिएका छन् । यहाँबाट दोस्रो पटक वैदेशिक रोजगारीमा जानेहरूको लागि मात्रै श्रम स्वीकृति दिने गरिएको छ । ‘एकपटक विदेशमा रोजगारी गरेर आएका र फेरि जान चाहेकाहरूलाई श्रम स्वीकृति दिँदै आएका छौं,’ उनले भनिन्, ‘माघ महिनायता भने कार्यालयमा आएर कसैले पनि श्रम स्वीकृति लिनु भएको छैन ।’

सहजताका लागि पछिल्लो समय श्रम स्वीकृति अनलाइन माध्यमबाट लिने व्यवस्था गरिएको छ । सूचना अधिकारी रेग्मीले हाल सबैजसोले अनलाइनबाटै सेवा लिइरहेको जनाइन् । ‘बायोमेट्रिक नभएका व्यक्तिहरू मात्र कार्यालयमा आएर सेवा लिनुपर्ने हुन्छ, अरुले अनलाइनबाट स्वीकृति लिने गर्नुभएको छ,’ उनले भनिन् । प्रदेशमा श्रम स्वीकृति दिने कार्यालय नहुँदा विगतका वर्षहरूमा उक्त सेवाका लागि काठमाडौं नै पुग्नुपर्ने बाध्यता थियो । श्रम स्वीकृतिका लागि अनलाइनमाध्यम तथा प्रविधिको प्रयोग बढेसँगै लिखित रूपमा हुँदै आएका काम कम भएको कार्यालय प्रमुख सुनिताकुमारी दर्लामी बताउँछिन् । उनका अनुसार श्रम स्वीकृति लिनका लागि अब श्रम कार्यालय जानै पर्ने बाध्यता छैन । वैदेशिक रोजगार विभागले अनलाइनबाटै आवेदन दर्ता गर्ने सुविधा प्रदान गरेकाले कार्यालयबाट स्वीकृति लिनेको संख्या घटेको उनको भनाइ छ ।

प्रकाशित मितिः   ८ फाल्गुन २०७८, आईतवार ०५:०२