१६ कैदीलाई माफी
सुर्खेत: सुर्खेत कारागारमा रहेका १६ जना कैदीबन्दीले माफी पाएका छन् । उनीहरूलाई प्रजातन्त्र दिवसको अवसरमा शनिवार आममाफी दिइएको हो । ७२औं प्रजातन्त्र दिवसमा सरकारले गरेको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले कैदीहरूको सजाय मिनाहा गरेकी हुन् । सुर्खेत कारगारबाट यसरी कैद मिनाह तथा माफी पाउनेमा १२ पुरुष र चार जना महिला छन् । अपराधको प्रकृति तथा कैद सजाय भुक्तान गरेको अवधिका आधारमा गरिएको सिफारिसमा ती कैदीहरूको बाँकी सजाय मिनाहा गरिएको हो ।
कारागार कार्यालय सुर्खेतका निमित्त प्रमुख भुवन गौतमले माफी मिनाह पाउनेमा कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, चोरी, बहुविवाह र सवारी ज्यान मुद्दालगायतका रहेको बताए । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा–२७६ बमोजिम देशका विभिन्न कारागारमा रहेको पाँच सय एक जना कैदी र मन्त्रिपरिषद्को सिफारिस अनुसार १२ जनाको सजाय माफ गरिएको छ । कैदी बन्दीको बानी व्यवहार तथा चालचलन राम्रो भएपछि कारागारका जेलर र प्रमुख जिल्ला अधिकारीले गरेको सिफारिसको आधारमा कैद मिनाहा हुने व्यवस्था छ ।
प्रकाशित मितिः ८ फाल्गुन २०७८, आईतवार ०५:०१
साझा बिसौनी ।