प्रवक्ताको जिम्मेवारी विष्टलाई

सुर्खेत: आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टलाई कर्णाली प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी दिइएको छ । मुख्यमन्त्री जीवनबहादुर शाहीले विष्टलाई उक्त जिम्मेवारी तोकेका हुन् ।

विष्ट नेकपा (माओवादी केन्द्र) का सांसद हुन् । उनी सुर्खेत क्षेत्र नम्बर–२ प्रदेशसभा (ख) बाट प्रत्यक्ष निर्वाचित हुन् । आठ सदस्यीय मन्त्रिपरिषद्मा कांग्रेसबाट मुख्यमन्त्रीसहित तीन, माओवादी केन्द्रबाट तीन र एकीकृत समाजवादीबाट दुई जना मन्त्री छन् ।

मुख्यमन्त्री नियुक्त भएको तीन महिनापछि पूर्णता पाएको सरकार भने विवादमा परेको छ । फौजदारी अभियोगमा जेल सजाय भोगेका व्यक्तिलाई मन्त्री बनाइएपछि सरकारको आलोचना भइरहेको छ । उक्त विषयलाई लिएर उच्च अदालत सुर्खेतमा रिटसमेत परेको छ । त्यसैगरी मन्त्रिपरिषद् समावेशी नभएको विषयमा पनि रिट दर्ता गरिएको छ । आठ सदस्यीय मन्त्रिमण्डलमा महिला र दलित सहभागिता शून्य छ ।

प्रकाशित मितिः   ५ फाल्गुन २०७८, बिहीबार ०५:०२