सांसद बानियाँविरुद्ध पक्राउ पुर्जी

सुर्खेत: नेकपा (एमाले)का नेता तथा मुगुका सांसद मोहन बानियाँविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जबरजस्ती करणी गरेको मुद्दा परेपछि जिल्ला अदालत बाँकेले बानियाँविरुद्ध पक्राउ पुर्जी आदेश दिएको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी मुधुसुदन न्यौपानेले अदालतबाट आदेश प्राप्त भएको जानकारी दिए । जुम्लाकी एक ४० वर्षीया शिक्षिकाले सांसद बानियाँले बाँकेस्थित अप्सरा होटलमा जबरजस्ती करणी गरेको दाबीसहित उजुरी दिएकी थिइन् ।

पक्राउ पुर्जी लिएलगत्तै अब बानियाँको खोजी सुरु गरेको बाँके प्रहरीले बताएको छ । सूचना अधिकारीसमेत रहेका डिएसपी न्यौपानेका अनुसार प्रहरीमा जाहेरी परेलगत्तै सांसद बानियाँले सम्पर्क गरी आफ्नो कुनै गल्ती नभएको र अनुसन्धानलाई सघाउने बताएका थिए । यद्यपि उनी प्रहरी कार्यालयमा भने नआएको प्रहरीको भनाइ छ ।

पक्राउ पुर्जी जारी भइसकेपछि भने बानियाँसँग सम्पर्क भएको छैन । बानियाँ रहेको स्थानको प्रहरीसँग समन्वय गरी बानियाँलाई बाँके ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ । बानियाँलाई अनुसन्धानको दायरामा ल्याएपछि बाँकी प्रक्रिया अगाडि बढ्ने पनि प्रहरीले बताएको छ ।

प्रकाशित मितिः   ५ फाल्गुन २०७८, बिहीबार ०५:०१